NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेकपा संकट मिलाउन राष्ट्रपतिदेखि चिनियाँ राजदूतसम्म सक्रिय

काठमाडाैं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको आगमनसँगै चर्किएको नेकपा विवाद व्यवस्थापन गर्न चिनियाँ राजदूत हाउ यान्छी मञ्चमा देखापरेकी छिन् । मंगलबार राति साढे १० बजे यान्छी बालुवाटारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । नेकपा विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ । राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । गत वैशाख र असारमा झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन् । १७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो । राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । १८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् । १६ असारमा नेकपामा नेताहरूले फेरि पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा तनाव सुरु भएको थियो । २५ असारमा उनले प्रचण्डसँग भेट गरेकी थिइन् । त्यसअगाडि उनले २१ असारमा नेता नेपालसँग र २३ असारमा खनालसँग भेट गरेकी थिइन् । त्यसवेला राजदूत यान्छीले प्रधानमन्त्री ओलीसँग पनि भेटेकी थिइन् । यही पृष्ठभूमिमा यान्छी फेरि सक्रिय भएकी छिन् । राष्ट्रपति सक्रिय स् एकै दिन प्रचण्ड र प्रधानमन्त्रीसँग अलगअलग भेट चिनियाँ राजदूत हाउ यान्छीसँग राति साढे १० बजेसम्म बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए । पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पु¥याएर नयाँ दल बनाउने ओलीको प्रयास जारी छ । तर, त्यसका लागि विद्यमान कानुन बाधक छ । अहिलेको कानुनअनुसार संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ । त्यसैले ओलीले संसदीय दलमा मात्र न्यूनतम ४० प्रतिशत पु¥याएर पार्टी विभाजन हुन सक्ने कानुन ल्याउन खोजेका छन् । त्यसका लागि मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्छ । यो विकल्पमा ओलीले राष्ट्रपति भण्डारीलाई पटकपटक भेटेर छलफल गरेका छन् । तर, राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत साबित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएकी छिन् । यसबाहेक संसद् विघटनको विकल्पलाई लिएर पनि प्रधानमन्त्रीले राष्ट्रपति र कानुन व्यवसायीसँग संवाद गरेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।