NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेकपाको आन्तरिक राजनीतिमा चिनियाँ राजदुतलाई गुहारेपछि कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपाको आन्तरिक सत्ता संघर्षमा विदेशी राजदुतलाई निम्त्याउनु देशकै लागि चिन्ताको संकेत भएको टिप्पणी गरेको छ । कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपालवाचसँग कुरा गर्दै नेकपाको चरम सत्ता र शक्तिको खेलले देशलाई नै घाटा पुर्‌याउने बताए । ‘नेकपाका देखिएको शक्ति सघर्ष उनीहरुको आन्तरिक कुरा हो । तर, सत्तारुढ दलमा भएको सत्ता संघर्षको उत्कर्ष विवादले अन्ततः देश र जनतालाई घाटा पारिरहेको छ’ महतले नेपालवाचसँग भने, ‘सत्तामा बस्नेलाई म नै सबैथोक हुँ भन्ने घमण्ड छ । सत्तामा नभएका नेकपाका नेतालाई मैंले पनि पाउनुपर्छ भन्ने चासोमात्रै छ । देश र जनताको चिन्ता छैन । सत्तारुढ पार्टीमा यसरी अस्वस्थ उताचढाव देखिंदा जनतामा चरम असन्तुष्टि देखिएको छ ।’ नेताहरुमा देशको विधि, पद्धति र आफूमाथि विश्वास नभएपछि विदेशी दुतावासको शरण लिने अभ्यास मौलाएको भन्दै महतले आपत्ति जनाए । ‘नेकपाका नेतामा देशको चिन्ता नभएपछि, आफूप्रति विश्वास गुम्न थालेपछि यसैगरी आन्तरिक राजनीतिमा विदेशी राजदुतहरुको भूमिका निम्त्याउने खेल हुन्छ’ महतले भने, ‘जुनसुकै देशका दुतावास किन नहुन् यसरी आन्तरिक राजनीतिमा भ्रूमिका बढ्दै जानु भनेको देशको लागि चिन्ताको संकेत हो । आन्तरिक राजनीतिक निर्णयमा चीन, भारत जसको भए पनि प्रभाव बढ्नु भनेको आपत्तिजनक विषय हो ।’ जनताको पीरमर्कामा केन्द्रित नभई नेताहरुमा शक्तिको चरम व्यक्तिगत आकांक्षा भएपछि यस्तै गरी बाहिरिया शक्तिको प्रभाव बढ्दै जाने महत बताउँछन् । यस्ता अभ्यासले देश र जनतालाई मात्रै घाटा नहुने भन्दै महतले संवैधानिक विधि, पद्धति र प्रक्रियामा प्रश्न उठ्ने र संस्थागत पद्धति गौण देखिने भन्दै महतले चिन्ता जनाए । नेकपामा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड पक्षबीच पछिल्ला केही सातायता विवाद चरमचुलीमा पुगेको छ । मुख्य गरी मन्त्रीहरु हेरफेर र कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढेपछि प्रचण्ड ओलीसँग तीव्र असन्तुष्ट रहँदै आएका छन् । एकलौटी रुपमा यस्ता निर्णय लिएको, भारतीय रअ प्रमुखलाई धेरै महत्व दिएर भेटेको, सचिवालय बैठक नराखेको जस्ता विषयले नेकपामा विवाद बढाएको छ । विवाद बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि चिनियाँ राजदुतसम्मले नेकपाको शक्ति संघर्षलाई मत्थर पार्न नेताहरुलाई भेटिरहेका छन् ।