NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

वीर अस्पतालमा ३१ दिनदेखि आन्दोलन र उपचार सँगसँगै

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पछि पनि जारी रहेको छ । कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् । कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकार गरेको उनीहरुको आरोप छ । आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१ औं दिनमा पनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधासमेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् । वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरुले पाउनुपर्ने तलब भत्ता पदाधिकारीहरुले खाइरहेको आरोप लगाए । चिकित्सकहरुले विरामीहरुको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएका छन् । आफ्ना माग पूरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।