NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

ओलीलाई आरोप लगाउने प्रचण्डलाई गगन थापाको साथ, भन्छन् : सडक र संसदबाट एकएक हिसाब मागिनेछ

काठमाडाैं । कांग्रेस युवा नेता गगन थापाले नेकपाको चर्किंदो विवाद सत्तारुढ दलको मात्र चासोको विषय नभएको बताएका छन् । नेकपाका अध्यक्षले प्रधानमन्त्रीमाथि लगाएका संगीन आरोपहरु सार्वजनिक चासोका विषय रहेको भन्दै यी विषयको जवाफ सरकार, नेकपाका अध्यक्षद्वयले दिनुपर्ने माग गरेका छन् । एउटा अध्यक्षमाथि अर्कोले लगाएको भ्रष्टाचार, अनियमितता जस्ता आरोप सामान्य नभएको तर्क थापाको छ । बुधबार विज्ञप्ति जारी गर्दै थापाले दुई अध्यक्षबीच मन मिलेर मात्रै अब विषय नमिल्ने दाबी गरेका हुन् । ‘प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार संचालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ । अब दुई अध्यक्षको मनमुटाव मिल्दैमा, गुटहरु जोड्दैमा, कोही आएर रातारात मिलाइदिंदैमा, एक भयौं भनेर हात मिलाउँदैमा, आत्मआलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिंदैमा सकिने विषय होइनन् । सकिंदैनन् । यस्ता विषय बैठकमा मन पखालेर पखालिंदैनन्, अब बिर्सौ भनेर बिर्सिदैन’ थापाले भनेका छन्, ‘यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन् । र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ । यतिमात्र होइन नेकपाको आन्तरिक शक्ति संघर्ष र कलहबीच विदेशी गुत्पचार प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषयअनि नेकपाका नेताहरुले चिनियाँ राजदुतसँग गरेको अस्वभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिंगो नेकपाले उत्तर दिनुपर्छ ।’ यस्ता विषयलाई प्रतिपक्षीले नेताहरुको तिक्तताको रुपमा मात्र नलिने भन्दै आफूहरुको पनि विषय भएको बताएका छन् । ‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तिमा प्रतिपक्षले गर्नेछैन’ थापाले भनेका छन्, ‘त्यसैले ‘फकिने’ र ‘फकाउने’ ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपा भित्रको आन्तरिक विषय रहेनन्, दुई ‘पाइलट’ को मनमुटाव मात्रको विषय रहेन । अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो ।’ जहाँ जसले फकाए पनि अब सडक र स‌ंसदबाट प्रधानमन्त्रीमाथि उठेका प्रकरणमा हिसाब खाेज्ने चेतावनी थापाले दिएका छन् । ‘आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर ‘फकाइदिए’ वा ‘मिलाइदिए’ पनि अब हाम्रो एक एक प्रश्नको उत्तर दिन तयार पनि हुनुहोला’ थापाले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक प्रकरणको हिसाबकिताव अब संसद र सडक दुवैबाट मागिनेछ ।’