NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

निजी ल्याबको बदमासी : पैसाको लोभमा स्वाब नै संकलन नगरी नक्कली रिपोर्टको धन्दा !

काठमाडौं । कोरोना परीक्षणको लागि सरकारले स्वीकृत दिएका केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै पत्र पठाएको छ। पर्यटन मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको छ। यसले नेपालभित्र हुने गरेको परीक्षणमा प्रश्न उठ्न सक्ने भन्दै मन्त्रालयले छानबिन र कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको हो। पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा नेपालबाट हङकङ र संयुक्त अरव इमिरेट्स (युएई) पुगेका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालको परीक्षणमा प्रश्न उठेको जनाएको छ। नेपालमा कोरोना परीक्षणको लागि स्वीकृत पाएका केही प्रयोगशालाले गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र विदेशमा पुगेपछि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको पत्रका उल्लेख छ। पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमका हरेक नियमित उडानमा नेपाल सरकारबाट स्वीकृत प्राप्त प्रयोगशालामा परीक्षण गरेर नेगेटिभ रिपोर्ट साथमा लिएर गएका यात्रुमध्ये केहीको रिपोर्ट पोजेटिभ आएपछि हङकङले नेपालबाट हुने अवतरण २५ नोभेम्बरसम्म स्थगित गरेको छ।’ पर्यटन मन्त्रालयका अनुसार २ अक्टोबरमा हङकङ गएका ५ तथा १९ अक्टोबरमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यस्तै निगमको काठमाडौं-नारिता नियमित उडानबाट यात्रा गरेका यात्रुको पुनःपरीक्षण गर्दा हरेक उडानमा कम्तिमा २ देखि १० जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ।  यसरी गलत रिपोर्ट दिनेमा सिनामंगलस्थित डिकोल्ड ल्याब, कमलपोखरीको सीडीएल ल्याब, सूर्य हेल्थ केयर लाजिम्पाट, बल्खुस्थित स्टार अस्पतालले दिएको रिपोर्टमा बदमासी भएको भन्दै मन्त्रालयले अनुसन्धानको माग गरेको हो। कात्तिक २८ गते यूएई जाने १६५ जनाको रिपोर्ट स्टार, सीडीएल र डिकोल्डको मिलेमतोमा गलत रिपोर्ट दिँदा दुबई पुगेपछि २२ जनाको पोजेटिभ आएको थियो।  निजी ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएको र विदेश पुगेपछि रिपोर्ट पोजेटिभ आएपछि नेपाल एयरलाइन्सले निजी ल्याबको रिपोर्टलाई मान्यता नदिने निर्णय गरेको छ। यो निर्णय लगत्तै मन्त्रालयले गलत नियतले रिपोर्ट दिने ल्याबलाई कारबाही गर्न माग गरेको हो।  निजी ल्याबको मदमासी थाहा पाएपछि  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने निर्णय कात्तिक २९ गते गरेको थियो।  सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो। निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले पटकपटक उडान प्रतिबन्ध लगाउदै आएको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।