NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कोरोनाविरुद्वको खोपबाट बालबालिका बञ्चित

काठमाडौं । कोरोना भाइरसविरुद्ध संसारमा पछिल्लो समय विकसित उपचार पद्धतिबाट बालबालिकाहरू बञ्चित हुने देखिएको छ । कोरोना विरुद्वका खोपको परीक्षण र तिनका सफलता दर सार्वजनिक भइरहेका बेला ती खोप बालबालिकाका लागि उपयुक्त नहुने देखिएका छन् । विश्वमा एक सय ५४ वटा खोप ‘प्रि–क्लिनिकल’ परीक्षणको चरणमा छन् । त्यसमध्ये २१ वटा पहिलो चरणमा, १२ वटा दोश्रो चरणमा र ११ वटा परीक्षणको अन्तिम चरणमा छन् । तर, यी कुनै पनि परीक्षणहरूमा बालबालिकालाई सहभागी गराइएको छैन । ‘संसारमा जति पनि खोप परीक्षण भएका छन्, ती सबैमा वयस्क तथा वृद्धवृद्धामात्र संलग्न छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने, ‘बालबालिकाको लागि भनेर अहिलेसम्म कुनै खोपको विकास भएको छैन ।’ अहिलेसम्म विकसित खोपबाट १२ वर्षमुनिका बालबालिका बञ्चित हुने डा. गौतम बताउँछन् । बालबालिकाका लागि बेग्लै खोपको विकास नहुदाँसम्म उनीहरूलाई कोरोना संक्रमणबाट जोगाउनुको विकल्प नरहेको उनको भनाइ छ । कति छन् कोरोना संक्रमित बालबालिका मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या दुई लाख १२ हजार नौ सय १७ पुगेको छ । त्यसमध्ये १० वर्ष मुनिका छ हजार बालबालिका तथा ११ देखि २० वर्ष उमेरका १४ हजार चार सय ७१ किशोरकिशोरी कोरोना संक्रमित छन् । विश्वमा कूल संक्रमितमध्ये ८.५ प्रतिशत बालबालिका कोरोनाबाट संक्रमित छन् । किन भएन बालबालिकामा परीक्षण ? खोपको परीक्षण विभिन्न चरणमा हुने गर्छ । यस्ता परीक्षण स्वस्थ वयस्कबाट सुरु गरिन्छ । उनीहरूमा खोप सुरक्षित भएपछि मात्र यो परीक्षण बालबालिकामा गरिन्छ । ‘वयस्कको तुलनामा बालबालिकामा कोरोनाको जाेखिम कम हुन्छ, त्यसैले विना परीक्षण खोप दिदाँ उनीहरूमा भाइरसले भन्दा खोपले निम्त्याउने जोखिम बढी हुन्छ,’ अमेरिकाको ह्युस्टनस्थित बायलर कलेज अफ मेडिसिनका एशोसिएट प्रोफेसर तथा बाल संक्रामक रोग विशेषज्ञ डा. फ्लोर मुनोज रिवाजले भनिन्, ‘तसर्थ यस्ता परीक्षणहरूमा स–साना बालबालिकालाई सीधै समावेश गराइँदैन ।’ यद्यपि, कोरोनाको संक्रमण रोक्न ढिलो–चाँडो खोप परीक्षण गर्न जरुरी रहेको क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा उनले उल्लेख गरेकि छिन् । के छ विश्वको अवस्था ? क–कसले गर्दैछ बालबालिकामा परीक्षण ? यसअघिका परीक्षणहरूमा बालबालिकालाई समावेश गराइएको थिएन । खोप परीक्षण सफल हुँदै गएपछि केही कम्पनीहरूले अबको अनुसन्धानमा बालबालिकालाई पनि समावेश गर्ने जनाएका छन् । फाइजर कम्पनीको खोप ९० प्रतिशत प्रभावकारी भएसँगै कम्पनीले अबको परीक्षण १६ वर्षभन्दा कम उमेरका बालबालिकामा गर्ने जनाएको छ । मोर्डना कम्पनीले पनि निकट भविश्यमा नै बालबालिकामा पनि यो परीक्षण गर्ने जनाएको छ । गत अप्रिलमा ५५ वर्षभन्दा मुनीका एक हजार स्वस्थ वयस्कहरूमा खोप परीक्षण गरेको अक्सफोर्ड विश्वविद्यालयले पनि अबको परीक्षण बालबालिकामा केन्द्रित गर्ने जनाएको छ । अक्सफोर्डका अनुसार अब हुने परीक्षणमा पाँच देखि १२ वर्ष मुनीका १० हजार दुई सय बालबालिकालाई समावेश गरिनेछ । जसमा बालबालिकाको प्रतिरक्षा प्रणालीको जाँच गरिनेछ ।यस्तै, चिनियाँ कम्पनी सिनोवाक बायोटेकले पनि आगामी परीक्षणमा ३ देखि १२ वर्ष मुनीका बालबालिकालाई समावेश गर्ने जनाएको छ । अन्य कम्पनीहरूले पनि छ वर्षभन्दा माथिका उमेर समूहका बालबालिकालाई पनि परीक्षणमा समावेश गर्ने जनाएका छन् । अमेरिकाले भने यस्ता परीक्षणमा बालबालिकालाई समावेश गराउनेबारे केही बोलेको छैन । कसरी गरिन्छ परीक्षण ? न्युयोर्क टाइम्सका अनुसार बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको भन्दा फरक हुन्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता पनि उमेर अनुसार फरक हुन्छ । विभिन्न अध्ययनहरूले जनाए अनुसार बालबालिकामा कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी छ कि छैन भनेर हेर्न पनि विभिन्न चरणको अनुसन्धान गरिन्छ । यसका लागि बालबालिकालाई विभिन्न उमेर समूहका आधारमा बर्गीकरण गरिन्छ । जसमा १२ देखि १७ वर्ष, ५ देखि १२ तथा पाँच वर्ष मुनीका बालबालिका समावेश हुन्छन् । उनीहरूलाई उमेर समूहका आधारमा विभाजन गरी छुट्टाछुट्टै परीक्षण गरिन्छ । बालबालिकालाई परीक्षणमा सहभागी गराउन अभिभावकको अनिवार्य मञ्जुरीनामा लिनुपर्छ । सात वर्षभन्दा माथिका बालबाबालिकाको हकमा भने बालबालिका स्वयंको पनि स्वीकृति आवश्यक हुन्छ । एउटा खोप तयार पार्न अनुसन्धानकर्ताहरूलाई दशौं वर्षसम्मको समय र करोडौं लगानी पनि लाग्न सक्छ । तर, आपत्कालीन अवस्थामा विश्वका विभिन्न देशहरूले कोरोना संक्रमण सुरु भएदेखि नै खोप विकासमा जुट्दै आएका छन् । बालबालिकामा यो खोप परीक्षण गर्नुपरे अझै धेरै समय लाग्न सक्छ । ‘परीक्षण गर्ने प्रकृया त एउटै हो, तर डोज फरक हुनसक्छ, त्यसैको आधारमा परीक्षण र नतिजा पनि फरक हुनसक्ने भएकाले अहिलेलाई यही नै हो भन्न त सकिदैन,’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक डा. शेर बहादुर पुनले नेपालवाचसँग भने ‘तर पनि खोप नआउँदा सम्म बालबालिकाहरू यसबाट बञ्चित हुनेचाहिं लगभग पक्का छ ।’