NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

नेकपा सचिवालय समस्या सिर्जना गर्ने थलाे : महासचिव पौडेल

काठमाडाैं । नेकपा महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय विवादहरुको समाधान गर्ने भन्दा पनि विवाद बल्झाउन थलो भएको टिप्पणी गरेका छन् । पौडेलले राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । ‘कोर अफ दि लिडरसिपको भूमिकामा रहेको केन्द्रीय सचिवालयले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्याहरु र समग्र राष्ट्रिय राजनीतिलाई ठीक दिशामा दिशावोध गर्नका निम्ति त्यसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ महासचिव पौडेलले भने,‘तर पछिल्ला दिनहरुमा पार्टीको केन्द्रीय सचिवालय समस्या समाधानको थलो नभएर समस्या उत्पादन गर्ने र समस्या सृजना गर्ने भूमिकामा बदलिएको छ ।’ उनले सचिवालयले आफ्नो भूमिका बल्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले सचिवालयले प्रभावकारी र नेतृतवदायी भूमिका निर्वाह गर्न नसके वैधता र औचित्यमाथि नै प्रश्न उठ्ने बताए । ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देखेकाे छु’ महासचिव पौडेलले भने, ‘यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृतवदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’ महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताए । ‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ । हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौँ । हाम्रो अभिभारा ठीक ढंगले पुरा गर्न नसक्ने भयौँ । त्यसैले तपाईहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस हामी पदमुक्त हुन्छौँ,’ पौडेलले भने, ‘सीमा बाहिर, मर्यादा बाहिरका तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिउन । पार्टी तथ्यको जडमा उभिएर सहि निष्कर्षका साथ अगाडी बढोस । त्यसका लागि अगाडि बढौँ भन्ने मेरो चाहाना हो त्यही अनुसार जिम्मेवारी पूरा गर्न चाहन्छु ।’