NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कोरोना विरूद्धको खोप : यस्तो छ संसारभरको पछिल्लो अपडेट

काठमाडौं । कोरोना संक्रमण रोक्न अहिले संसारभरी नै खोप परीक्षणको प्रतिस्पर्धा चलेको छ । त्यसमध्ये केहीले सफलताको अन्तिम चरणमा पुगेको दावी गरेका छन् भने कतिपयले परीक्षणले सकारात्मक नतिजा दिन थालेको बताएका छन् । परीक्षणको अन्तिम चरणमा रहनेमा अमेरिकाको फाइजर एण्ड बायोटेक कम्पनी, मोर्डना कम्पनी, रूसको स्पुतनिक भी लगायत छन् । औषधि उत्पादक कम्पनीहरूले आ–आफ्नै दावी सार्वजनिक गरे पनि अहिलेसम्म कुनै पनि कम्पनीले अन्तिम नतिजा र कारोबारको स्वीकृति पाएका छैनन् । परीक्षणको अन्तिम चरणमा रहेका औषधि उत्पादक कम्पनीका दावी यस्ता छन् : फाइजर यो अमेरिकन औषधि उत्पादक कम्पनी हो । कम्पनीले बुधवार सार्वजनिक गरेको रिर्पोटमा कम्पनीद्धारा उत्पादित खोपको प्रभावकारीता ९५ प्रतिशतसम्म रहेको दावी गरिएको छ । फाइजरले यस अघि पहिलोपटक आफ्नो खोप ९० प्रतिशत प्रभावकारी रहेको दावी सार्वजनिक गर्दा अनुसन्धानकर्ताबीच तरंग नै उत्पन्न भएको थियो । अहिले उक्त कम्पनीले खोपको प्रभावकारीता बढ्दै गएको उल्लेख गरेको छ । कम्पनीले परीक्षणमा सहभागीमध्ये एक सय ७० कोरोना संक्रमितको पहिचान गरेको थियो । जसमध्ये एक सय ६२ जनालाई सामान्य ‘स्लाइन पानी’ दिइएकोमा बाँकी आठ जनालाई वास्तविक खोप दिइएको थियो । उक्त खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको कम्पनीले जनाएको छ । मोर्डना यो पनि अमेरिकन औषधि उत्पादक कम्पनी हो । कम्पनीले आफूले विकास गरेको खोपको प्रभावकारीता ९४.५ प्रतिशत रहेको जनाएको छ । मोर्डनाका अनुसार करिब ३० हजार सहभागीमा गरिएको खोप परीक्षणमा आधालाई ‘डम्मी डोज’ दिइएको थियो । त्यसमध्येका ९५ जनामा कोरोनाको संक्रमण देखिएकोमा पाँच जनालाई मात्र वास्तविक खोप दिइएको थियो । स्पुतनिक भी रूसी अनुसन्धानकर्ताहरूले पनि कोरोना भाइरस विरुद्ध खोपको विकास गरेका छन् । उक्त खोपलाई ‘स्पुतनिक भी’ नाम दिइएको छ । यो खोपको प्रभावकारीता ९२ प्रतिशतसम्म पुगेको दावी अनुसन्धानकर्ताहरूले गरेका छन् । यो खोप २१ दिनको अन्तरमा दुई पटक दिइन्छ । यो खोप भाइरल भेक्टरमा आधारित छ जसले सामान्य रुघाखोकी निम्त्याउँछ । घरेलु प्रयोजनका लागि रूसले गत अगष्टमै यसलाई सुचीकृत गराइसकेको छ भने कोरोना संक्रमणको उच्च जोखिममा रहेका दश हजार मानिसहरूलाई यसको खोप उपलब्ध गराइसकेको छ । रूसका राष्ट्रपति भ्लामादिम पुटिनले यस वर्षको अन्त्यसम्ममा रूसमा कोरोना विरुद्धको खोप बृहत रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाइसकेका छन् । सिनोभ्याक्स चिनियाँ कम्पनी सिनोभ्याक्सले पनि आफूद्वारा उत्पादित खोपले मध्यम चरणको परीक्षणमा सफलता हात पारेको जनाएको छ । झन्डै सात सय जनामा गरेको परीक्षणमा यो खोप प्रभावकारी रहेको दावी अनुसन्धानकर्ताहरूको छ । सामान्य फ्रिजमा पनि लामो समयसम्म भण्डारण गर्न सकिने भएकोले यस खोपलाई अनुसन्धानकर्ताहरूले ‘आर्कषक विकल्प’को संज्ञा दिएका छन् । अक्सफोर्डको एस्ट्राजेनेका बेलायतको अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको एस्ट्राजेनेका नामक खोप प्रभावकारी रहेको दावी खोपको विकास र उत्पादनमा क्रियाशिल अनुसन्धानकर्ताहरूले गरेका छन् । यद्यपि, यसको नतिजा सार्वजनिक भइसकेको छैन । जनसेन बेल्जियमको औषधि उत्पादक कम्पनी जनसेनले पनि कोरोना विरुद्धको खोप विकास गरिरहेको छ । ६ हजार जनामा यसको परीक्षण भइरहेको छ । त्यस्तै, चीनको वुहान इन्ष्टिच्यूट अफ बायोलोजिकल प्रोडक्टस तथा सिनोफार्म, रूसको मस्को गेमालिया रिर्सच इन्टिच्यूट अफ इपिडेमियोलोजी तथा माइक्रोबायोलोजी लगायतले पनि विभिन्न चरणमा कोरोना विरुद्धको खोपको परीक्षण गरिरहेका छन् । संसारभरी कोरोना विरुद्धको खोपको अवस्था विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक सय ५४ वटा खोप ‘प्रि–ट्रायल’को चरणमा छ, २१ वटा दोश्रो चरण र ११ वटा परीक्षणको अन्तिम चरणमा छन् । यी खोपको मुख्य उद्देश्य शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नु हो । यस्ता खोपले शरीरमा कोरोना भाइरसको संक्रमण हुन नदिनुका साथै संक्रमण भइहाले ज्यान जानबाट जोगाउन सहायता गर्छन् । त्यसैले, विश्वमा जति छिटो खोपको विकास भयो, कोरोना संक्रमणको जोखिम उत्ति नै कम हुन्छ । फाइजर र मोर्डना कम्पनीले विकास गरेको खोप आरएनए खोपको रुपमा परिचित छ । यसमा भाइरसको अणुवंशिक कोडलाई शरीरमा प्रवेश गराइन्छ । यसको मद्दतले शरीरको प्रतिरोधी क्षमता बलियो हुन्छ, जसले भाइरसविरुद्ध लड्न सघाउँछ । जनसेनले विकास गरेको खोपमा रूघाखोकीको उपचारमा प्रयोग हुने भाइरसको उपयोग गरिन्छ । त्यस्तै, अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपमा शरीरलाई हानी नपु¥याउने भाइरसको प्रयोग भएको हुन्छ । यसमा चिम्पाञ्जी संक्रमित हुन्छन् र यसलाई अनुवंशिक रूपले परिवर्तन गरी कोरोना भाइरस जस्तै बनाइन्छ ताकि शरीरमा यसको प्रतिक्रिया देख्न सकियोस् । चीनमा निर्मित खोपमा पनि वास्तविक भाइरसको उपयोग गरिएको छ । तर, यसमा भाइरसलाई दुर्वल बनाइएको हुन्छ । जसले गर्दा यो खोप लगाएपछि कोरोना भाइरसको संक्रमण हुँदैन ।तर, यीनै आधारमामात्रै कुन खोप प्रभावकारी छ भन्ने अहिले नै यकिन गर्न सकिदैन । कहिलेसम्म उपलब्ध हुन्छ खोप ? यही वर्ष (सन् २०२०) को अन्त्य सम्ममा विश्वभर कोरोना भाइरसको पाँच करोड डोज खोप आपूर्ति गर्ने दावी फाइजर कम्पनीले गरेको छ । आगामी वर्ष सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज आपूर्ति गर्न सक्ने दावी पनि कम्पनीको छ । बेलायतले यही वर्षको अन्त्यसम्ममा एक करोड डोज आपूर्ति गर्ने योजना सहित पहिले नै तीन करोड डोजको लागि अर्डर दिइसकेको छ । अक्सोफोर्डको एक्ट्राजेनेकाले यसअघि नै बेलायतलाई १० करोड डोज खोप उपलब्ध गराउने सहमति दिइसकेको जनाएको छ । खोप सफल भएमा विश्वलाई २० करोड खोप उपलब्ध गराउने दावी कम्पनीको छ । जोखिम क्षेत्रका मानिसहरू प्राथमिकतामा कोरोना भाइरसको संक्रमण अत्याधिक भएको ठाउँमा कोरोना विरुद्धको खोप सबैभन्दा पहिले उपलब्ध हुनेछ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी वृद्धवृद्धा लगायत जोखिम क्षेत्रमा रहेकालाई यो खोप सबैभन्दा पहिले उपलब्ध गराइनेछ ।