NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्वास्थ्य मन्त्रालयको छानविनमा पिसिआर परीक्षणमा बदमासी भेटिएन

काठमाडौं । काठमाडौंका ल्याब तथा अस्पतालले नक्कली पिसिआर रिपाेर्ट बनाएर व्यापार गरेको आरोप गलत सावित भएको छ । नेपाल एयरलाइन्सको विमानबाट दुवई र हङकङ जाने यात्रुमा यात्रा गर्नुपूर्व र गन्तव्यमा पुगेपछिको पिसिआर रिपाेर्ट फरक परेपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सिफारिसमा स्वास्थ्य तथा जनसंस्या मन्त्रालयले छानविन समिति बनाएको थियो । उक्त समितिले शुक्रबार आशंका गरेजस्तो अपराध ल्याब तथा अस्पतालले गरेको नपाइएको निष्कर्ष सहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । नेपाल एयरलाइन्सबाट हङकङ र दुवई पुगेका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि त्यहाँ नेपाली उडान प्रतिबन्धित भएको थियो । आफ्नो देश आएका नेपाली यात्रुमा कोरोना पुष्टि भएपछि हङकङले तीन र दुवईले दुईपटक नेपाल एयरलाइन्सलाई प्रतिवन्ध लगाएको थियो । यो घटनापछि कोरोना परीक्षण र रिपाेर्ट दिने अस्पताल र प्रयोगशालामाथि छानविन गर्न पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । पर्यटनको आग्रहपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक डा. मुकुन्दा गौतमको संयोजकत्वमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रयोगशाला विज्ञ बलराम गौतम सदस्य रहनेगरी छानविन समिति गठन गरेको थियो । उक्त समितिले स्टार अस्पताल, ह्याम्स अस्पताल, सेन्ट्रल डायग्नोष्टिक सेन्टर तथा सूर्या डायगोनोष्टिक सेन्टरको प्रयोगशालाको पिसिआर परीक्षण रिपाेर्टको छानविन गरेको थियो । बिहीवार गठन गरिएको उक्त छानविन समितिले आजै स्वास्थ्य मन्त्रालयलाई रिर्पोट बुझाएको छ । ‘रिपाेर्टमा नक्कली भन्ने केही पनि देखिएन,’ छानविन समितिका एक अधिकारीले भने । छानविनका क्रममा ‘भाइरल इन्फेक्सन’ भएको तर संक्रमण नदेखिएको पाइएको ती अधिकारीले बताए । ‘तर रिपाेर्ट नै नक्कली बनाएको वा जाँच नै नगरी रिपाेर्ट दिएको भन्ने चाहिं भेटिएन ।’ ती अधिकारीले भने । छानविनका क्रममा समितिले नमुना लिएर सम्पूर्ण पिसिआर रिपाेर्टको अध्ययन गरेको थियो । प्रारम्भिक चरणमा कोरोना संक्रमण देखिएको तर प्रयोगशाला रिपाेर्टबाट त्यो पुष्टि नहुँदा यस्तो समस्या देखिएको छानविन समितिको ठहर छ । कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भएको सुरुको करिब ५ दिनलाई प्रारम्भिक चरण मानिन्छ । यो बेला व्यक्तिमा कोरोना संक्रमण भए पनि भाइरस सक्रिय नहुँदा परीक्षणले संक्रमण देखाउँदैन । नेपाल एयरलाइन्सबाट हङकङ र दुवई पुगेका यात्रुको हकमा पनि यस्तै भएको छानविन समितिको ठहर छ ।

ताजा अपडेट

नेपालवाच विशेष