NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ७ गते

यसकारण चुनाव नआए पनि घरदैलोमा निस्किएँ

राजनीति भनेको नेताको महत्वकांक्षा होइन । जनताको कुरा सुन्ने, जनताको बीचमा बस्ने, जनतालाई समस्या परेको बेलामा समाधानका लागि आफूलाई अग्रपंक्तिमा उभ्याउने सामाजिक कार्य हो । तर, हामीले राजनीतिलाई अर्काे अर्थमा बुझ्न थाल्यौ । त्यही अनुसारका काम र भाषणमा मात्रै लाग्यौं । समाजलाई लाग्न छ की हामी जनताको काममा केन्द्रित छैनौं । कोरोना महामारीबाट अहिले विश्व नै आक्रान्त छ । नेपाल पनि उत्तिकै प्रभावित छ । यस्तो संकटपूर्ण अवस्थामा जनताको आशा हामी जस्तै नेताप्रति छ । संकटमा हामीले जनतालाई आड, भरोसा र विश्वास दिलाउन नसक्ने हो भने हाम्रो राजनीति केका लागि ? कोभिड–१९ को यस्तो महामारीमा सरकारले सरकार हुनुको बोध नागरिक तहलाई गराउन सकेको छैन । आशा होइन सरकारप्रति जनतामा निराशाले बास गरेको छ । सरकारको पनि पीडामा रहेका जनताप्रति चरम बेवास्ता छ । हो, सरकारप्रति जनतामा आशा मरेको छ । तर, के हामीले सरकारप्रति आशा मर्यो भन्दैमा केही नगरी बस्ने त ? यो जोखिममा हामी सबै नेता कार्यकर्ताले सानो काम गर्ने हो भने पनि त्यसले दिने सन्देश एकदमै ठूलो हुन्छ । त्यसैले मैंले यस्तो अवस्थामा आफ्नो राजनीतिक कर्म सम्झिएँ । मलाई मेरो क्षेत्र (काठमाडौं–८)का जनताले दुई पटक निर्वाचित गराए । म मन्त्री पनि भएँ । तर, अहिले म निर्वाचित सांसद होइन । तर, निर्वाचित होइन, अर्को चुनाव नआउँदासम्म जनताकोबीचमा जान हुँदैन म भन्दिन । जनता समस्यामा पिल्सिएका बेला हामी राजनीतिककर्मी झन् बढी दायित्वले बाँधिएका हुन्छौं । जनताको पीडामा थोरै भए पनि मलहम लगाउन सकेनौं भने हामीलाई जनताले बारम्बार किन भोट दिइरहन्छन् ? हामीलाई मानिरहन्छन् ? यो महामारीमा जनतालाई सचेतना, आड भरोस, राहत, रोजगारी जसरी दिनुपथ्र्यो सरकारले कुनै पनि काम प्रभावकारी ढंगले गर्न सकेन । हामीले बारम्बार सरकारलाई जनताको पक्षमा काम गर्न आग्रह गर्दै आयौं । तर, सरकारले वास्ता गरेन । यस्तो उदासीन, भत्सर्नायोग्य, दुखद् अवस्था भनेको लोकतन्त्रको विरुद्धमा हो । जनताविरुद्ध हो भन्ने मान्यता म राख्छु । कोरोनापछिको अवस्था कति भयावह हुन्छ भन्ने मानिसहरुलाई परेमात्रै थाहा हुन्छ । यो यति ठूलो समस्या हो की जीवन नै यत्ति नै हो भन्ने त्रास हुँदोरहेछ । मेरो परिवारमा पनि श्रीमतीलाई छोरीलाई कोभिड भएपछि म आफूले पनि यसको जोखिम झन् बढी महसुस गरें । अवस्था भयावह बन्दै जाँदा यो देशमा मानवता नै नरहने हो कि भन्ने सोचाइमा समाज पुग्न थालिसक्यो । जतिसुकै दुःखकष्ट भए पनि सहनै पर्ने हो भन्ने अवस्थामा समाज पुगेको छ । किनकी सरकारले कोभिड–१९ का समग्र असरबाट उम्किन प्रभावकारी काम नगरेपछिको परिणाम हो यो ।तर सरकारप्रति विश्वास छैन भनेर हामीहरुले केही गर्नै हुँदैन भन्ने पनि होइन । सरकारलाई झक्झकाउने, जगाउने त छँदैछ । हामीले पनि सुरक्षित भएर बस्न आग्रह गर्न सक्छौं । जनताको निम्ति सचेतना छर्न सक्छौं । अहिले उपत्यकादेखि शहरी क्षेत्रमा महामारीबाट कसरी बच्ने भन्ने छ । रोजगारी र व्यवसाय गुमाएपछि कसरी गरीखाने भन्ने चिन्ता नागरिकलाई छ । दिनदिनै भय र त्रासले जनतामा जरो गाडेको छ । यस्तो बेला जनतालाई रोजगारीको आवश्यकता छ । भय र त्रासबाट माथि उठ्नुछ ।जीवनलाई फेरि पनि राम्रोसँग जिउँनु नै छ । तर पनि जनतामा रोग लागेमा के गर्ने कस्तो गर्ने भन्ने मनावैज्ञानिक त्रास छ । रोग लागिहाले परीक्षण गर्न सक्ने सामथ्र्य छैन । सामथ्र्य भए पनि हस्पिटलमा बेड छैनन् । आइसियु छैनन् । भेन्टिलेटरको पर्याप्त उपलब्धता छैन । बल्ल पाउने उपचार पनि एकदमै महंगो र जटिल छ । सरकार उपचार गर्दैनौं भनेर हात उठाउँछ । निजी अस्पतालको उपचार शुल्क अत्याधिक महंगो छ । रोजगारी गुमेको यस्तो बेलामा जनताले महंगा यी अस्पतालमा कसरी उपचार गर्ने ? संकटका बेला राज्यले यस्ता महंगा अस्पताललाई जनताको सेवामा जुट भनेर किन भन्न नसक्ने ? निजी अस्पतालले नाफा खानुपर्ला आफ्नो ठाउँमा छ । तर, यो संकटमा थोरै नाफा खाएर मानवीय सेवामा जुट्न किन नसक्ने ? चारैतिर अन्धकारमात्रै भएकोले पनि जनतालाई यतिखेर नराम्रो मात्रै छैन है भनेर आशा जगाउनुपर्नेछ । त्यसैले सानो प्रयास गरौं भनेर म पनि घरबाट निस्किएँ । मास्क लगाउन, आग्रह गरे, जनचेतना जगाउने टिमसँगै लिएर हिंडे । घरघरमा पुगेर मास्क पनि बाड्यौं । यो म एक्लैले गर्ने काम होइन । अभियन्ताहरु आउनुहोस् । युवाहरु, राजनीतिक दल, सामाजिक धार्मिक समाजलाई आग्रह गरें । तपाईं हामी सबैले सानो सहयोग गर्दा पीडितलाई ठूलो सहयोग मिल्छ भन्ने मेरो आग्रह हो । समाजमा सबै सहयोग गर्न पर्ने मात्रै छैनन् । सहयोग गर्न सक्ने पनि उत्तिकै हुनुहुन्छ । गर्न सक्नेले यो संकटमा सहयोग गरेर मानवीय बन्न आग्रह गरिरहेका छौं । म कांग्रेसका नेता कार्यकर्तालाई मात्र लिएर जनताको घरदैलोमा हिँडेको छैन । हाम्रो टिममा डाक्टर, स्वास्थ्यकर्मीहरु पनि हुनुहुन्छ, सामाजिक अभियन्ताहरुको पनि साथ छ । घरघर डुलेर स्वास्थ्यमा समस्या आयो भने डाक्टरलाई सिधैं सम्पर्क गर्न भनेका छौं । डक्टरहरु चौबिसै घण्टा उपलब्ध गराउने वचन दिएका छौं । जनतालाई नआत्तिन भनेका छौं । हामीले अरु केही गरेनौं कोभिडबाट कसरी बच्ने, के गर्न हुँन्छ ? के गर्न हुँदैन भन्ने सचेतनाको लागि अहिले घर–घरमा पोष्टर टास्न दिएका छौ । समस्या आइहाले सोधपुछ गर्नका लागि तीन कन्सल्टेन्टको मोबाइल नम्बर दिएका छौँ । डा. भुपेन्द्र बस्नेत र सिनियर डा. रविन्द्र पाण्डेसहितका साथमा अरु डक्टरहरु हुनुहुन्छ । उहाँहरु सेवा दिन जतिखेर पनि तयार हुनुहुन्छ । हामीले यसरी सेवा दिंदा ‘ब्याकअप सिस्टम’ पनि राखेका छौँ । हामीले अग्रसरता लिएपछि समस्या परेकलाई एम्बुलेन्स तत्काल उपलब्ध गराउँने कुरा भएको छ । यो पार्टीको नेता हुनुको नाताले एउटा दायित्व पनि हो । समाजमा राजनीतिभन्दा बाहिर हुनुभएकाले पनि हाम्रो अभियानमा सहयोग गरिरहनु भएको छ । जनताको पक्षमा काम गर्न चुनाव आउनु पर्दैन । यसरी संकटमा जनतासँग जोडिन सकिन्छ । पदमा पुग्ने, पैसा मात्रै कमाउने सोचले राजनीतिलाई सम्मानित बनाउन सकिंदैन । जनताको सेवामा गरिने सत्कर्मले राजनीति सम्मानित हुन्छ । राजनीति भनेको जनतालाई अप्ठेरो परेको बेलामा यहाँ नेता छ है भनेर सम्झिने ठाउँ होहुनुपर्छ । हामी निर्वाचनमा भोट माग्न जान्छौँ । तर, अहिले त चुनाव आएको छैन । किन जाने भन्ने पनि होलान् । तर, जनता अहिले पीडित छन् । यो बेलामा किन आफै अग्रसर नहुँने ? सरकारबाट त कुनै किसिमको अपेक्षा छैन । सरकारले उपेक्षा नै गरेको छ । यस्तो बेलामा एउटा नागरिकको नाताले कमसेकम एउटा चेतना फैलाउँन सक्यौँ भने यसले जाग्रित बनाउँछ । एउटा भरोसा हुन्छ । तपाईंलाई के समस्या छ ? भनेर सोध्दा मात्र पनि मनावैज्ञानिक रुपमा राहत पुग्दोरहेछ । म घरदैलोमा हिंड्न थालेपछि एक जनाले निक्कै आत्तिएर फोन गर्नुभयो । तर मैंले आँट गरेर रोगसँग लड्नुपर्छ नआत्तिन भनें । तत्काल परीक्षण गरेर उपचार गर्दा कोभिड ठीक हुन्छ हस्पिटल जान हामी सहजीकरण गछौ भनेपछि उहाँ अलि ढुक्क हुनुभयो । हो यतिखेर नागरिकलाई यस्तो आड र भरोसा चाहिएको छ । वचनले मात्रै पनि जनतामा आत्मविश्सास भर्न सकिन्छ । प्रत्येकले आफ्नो ठाउँबाट पहल गर्ने हो भने अरुका लागि पनि मार्गदर्शन गर्छ । जनताप्रति समर्पित भएर काम गर्नुपर्ने अवस्था छ । तर, जनतामाझ नेताहरु भाषणमात्र गर्ने भनेर परिभाषित भए । नेपालमा नेताको जुन परिभाषा छ त्यो परिवर्तन गर्नुपर्छ । हामीले गरेका यस्ता काम साना लाग्न सक्छन् । तर, आफूले राजनीति गरेको ठाउँमा सबै नेताले यत्तिमात्रै काम गर्ने हो भने धेरैलाई सहयोग पुर्याउन सकिन्छ । घरदैलोमा जाँदा घरको पाँचौछैटौ तलामा नौ महिनादेखि खुट्टा दुखेर बसेको मान्छे मलाई देखेर तल आउँनुभयो । आएर मसंँग वेदना पोख्नुभयो । उहाँकी श्रीमतीले तपाईं आउने थाहा पाएपछि बिरामी भए पनि म तलै गएर भेट्छु भन्दा हामीप्रतिको सम्मान र आशा अझै मरेको छैन भन्ने बोध भयो । मान्छेमा नेताहरुप्रति अझै कत्रो आशा रहेछ भन्ने यस्ता घटनाले देखाउँछन् । संकटका बेलामा नेताहरुले आफ्नो ठाउँबाट सानो सानो प्रयासले यसरी भरोसा दिलाउनुपर्छ । विश्वास दिनुपर्छ भन्ने मेरो सोच हो । यो मेरो सानो काम होला तर, सबैले गर्न सके यसले प्रेरणा नै दिन्छ । हामी भाषणबाट फल खोज्छौँ । तर भाषणमात्र नगरी व्यवहारिक बनौं भन्ने मेरो भित्री आग्रह हो । यसैले कर्म गरौ । आफ्नो दायित्व बुझौ भनेर म अभियानमा निस्किएँ । म आफू सहभागी भएर तिहारको लक्ष्मीपूजासम्म चार दिन घरदैलो गरें । घरमैं श्रीमती र छोरी संक्रमित भएपछि अहिले अरु साथीहरुमात्रै यस्तो अभियानमा हिड्नुभएको छ । घर परिवारको कोरोना पूरै नेगेटिभ आइसकेपछि मात्र अब सचेतनाको यस्तो कार्यक्रम लिएर बाहिर निस्कन्छु ।