NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

लकडाउनमा नरोकिएका पौरखी युवा : जसले संकटलाई अवसरमा बदले

कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ गते देखि लकडाउन सुरु भयो । त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए । यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् । लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरणीय व्यक्ति हुन् हेटौडा–६ शान्तिटोलका भरत सापकोटा । लकडाउनका कारण आफूले लाखौं लगानी गरेर सञ्चालन गरेको नीजि विद्यालय बन्द भएपछि उनलाई बैंकको व्याज तिर्न समेत समस्या भयो । त्यसैले आफ्नाे पुर्‌ख्याैली जमिनमा व्यवसायिक ढंगबाट एकीकृत कृषि फार्मको सुरुवात गरे । लकडाउन कै बीचमा कुखुरा, माछा र तरकारी खेती सुरु गरेका सापकोटाले अहिले आम्दानी लिन थालेका छन् । उनले रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर संचालन गरेका छन् । यस्तै लकडाउन भन्दा अगाडि हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउन कै बीचमा व्यवसायिक तरकारी खेती शुरु गरेको छ । बेमौसमी तरकारी खेती शुरु गरेका उनीहरुको परिवारले पहिलो उत्पादनमै ३ लाख रुपैयाँ बढीको तरकारी विक्री गर्न सफल भयो । लकडाउनको प्रतिकूल समयलाई सदुपयोग गरेका उनीहरु आफू त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका छन् । लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले स्वरोजगार कार्यक्रम शुरु गरेको छ । बेरोजगारहरुलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरेका छन् । हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यवसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रुपमा अगाडि बढाएका छन् । तर सीपमूलक तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न भने सकिरहेका छैनन् । राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकूल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।