NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अनुसन्धानको नाममा सोझा गाउँलेमाथि प्रहरीको ज्यादती

बाँके । प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभाबी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३, वनकट्वामा अहिले त्रास बढेको छ । प्रहरी हिरासतमा मृत भेटिएका बाँकेको डुडवा–३ का बाबुलाल रैदासका भावविह्वल बाबुआमालगायत परिवार । स्थानीय बालकको हत्या आरोपमा पक्राउपरेका रैदासलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाएर २५ दिनदेखि हिरासतमा राखेको थियो । ‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ,’ प्रहरी हिरासतमा रहेका २१ वर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि बिनाकारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’ अधिकारवादी र पत्रकारहरूको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तँछाडमछाड गरिरहेका थिए । उनीहरूले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ,’ ललिताले भनिन् । वनकट्वाका १० वर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकमा रुवाबासी चल्यो । हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरूले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । हरिजन सरकारी इन्जिनियर हुन् । उनले बालक हत्याको किटानी जाहेरी नदिएको तर न्याय पाउनुपर्ने जनाए । ‘हामीले न्याय पाउनुपर्छ । यति हो,’ उनले भने । बालक हत्यापछि उजुरी नपरे पनि प्रहरीले भोलिपल्टै छानबिन सुरु गर्‍यो । त्यही क्रममा सुनीलको घरदेखि १० मिटर दूरीमा रहेका अन्दाजी ३६ वर्षीय बाबुलाल रैदाससहित १८ जना स्थानीयलाई प्रहरीले हिरासतमा लियो । एक सातापछि १५ जनालाई दैनिक प्रहरी कार्यालयमा हाजिर हुने गरी छाडियो । बाबुलाल, १३ वर्षीय विजय खटिक र २१ वर्षीय अजय सोनीलाई भने हिरासतमै राखियो । उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा मुद्दा लगायो । हत्या आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाटै अभद्र व्यवहारको मुद्दामा अल्झाइयो । अभद्र व्यवहारको मुद्दा चलाइएका व्यक्तिलाई २४ दिनभन्दा बढी हिरासतमा राख्न नपाइने भए पनि प्रहरीले त्योभन्दा बढी समय थुनामा राखेको छ । हिरासतमा रहेको २५ औं दिनमा बाबुलाल मृत अवस्थामा भेटिएपछि आफन्तको घरमा अहिले रुवाबासी छ । दुई जना छिमेकी गुमाएको पीडा स्थानीयलाई छँदै थियो, त्यसभन्दा बढी पीडा प्रहरीबाट पाइरहेको उनीहरूको गुनासो छ । ‘बालकको हत्या हुनु निकै दुःखको कुरा हो तर प्रहरीले जसलाई पायो, त्यसैलाई पक्राउ गरेर चौकी लगी मानसिक यातना दिइरहेको छ, दैनिक तारिखमा राखेर निकै सताएको छ,’ शनिबार बिदाका दिन साँझ ५ बजे जिल्ला प्रहरी कार्यालयको तारिखमा बोलाइएका ५५ वर्षीय मंगता चमारले भने, ‘शुक्रबार तारिख लिन बोलाएका थिए । त्यहाँ पुगेपछि शनिबार आउनू भनेर पठाइदिए ।’ उनका छोरा फूलचन्द चमारलाई पनि त्यसै घटनाको अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ । ‘चौकी बोलाएर हैरान पारेका छन् । जसलाई पायो, त्यसैलाई प्रहरीले पक्राउ गरिरहेको छ,’ उनले भने । राष्ट्रिय मानवअधिकार आयोगको लुम्बिनी प्रदेश प्रमुख सम्झना शर्माले प्रहरीले घटनाको अनुसन्धान गर्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बताइन् । पक्राउ गर्नुअघि पक्राउ पुर्जी दिनुपर्ने र स्वास्थ्य परीक्षण गरी न्यायिक हिरासतमा राख्नुपर्ने उनको भनाइ छ । ‘यी सबै प्रक्रिया पूरा नगरे मानवअधिकारको ध्यानाकर्षण हुन्छ,’ उनले भनिन् । मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रहरीले हत्या घटनाको छानबिन कानुनबमोजिम गर्न पाउने तर अनावश्यक धरपकड गर्न नमिल्ने बताए । पक्राउ गरिएका व्यक्तिलाई न्यायिक हिरासतमा मात्रै राख्न सक्ने उनले जनाए । ‘पक्राउ पुर्जी नदिएर ६ दिनसम्म थुनामा राख्नु मानवअधिकारविपरीत कार्य हो,’ उनले भने, ‘शंका लागेको छ भने रीतपूर्वक अनुसन्धान गर्नुपर्‍यो ।’ बालक सुनीलको हत्या घटनाको अनुसन्धानमा स्थानीयहरू प्रहरीलाई सहयोग गर्न तयार छन् तर हत्याको अनुसन्धानका नाममा प्रहरीले जथाभाबी पक्राउ गरी गाउँमा आतंक मच्चाएको स्थानीयको आरोप छ । हिरासतमै रहेका १३ वर्षीय विजयलाई पनि राति जंगलमा पुर्‍याएर हत्या स्वीकार गर्न दबाब दिने गरेको छ । ‘छोरा घरमै थियो, प्रहरी आएर समाएर लग्यो,’ हिरासतमा रहेका छोरालाई प्रहरी हिरासतमै भेटेर फर्केका बुबा जिलेदार खटिकले भने, ‘हिरासतमा रहेका छोरासँग सोधपुछ गर्दा १२ बजे राति प्रहरीले जंगलमा लगेको सुनायो । हत्या आरोप स्वीकार गर्न प्रहरीले छोरालाई दबाब दिइरहेको छ ।’ प्रहरीले बालक हत्याको आरोपमा पक्राउ गरेका व्यक्तिहरूविरुद्ध किटानी जाहेरी गर्न सकेको छैन । उनीहरूविरुद्ध अभद्र व्यव हार मुद्दा दर्ता गरी कर्तव्य ज्यानमा अनुसन्धान गरिरहेको छ । ‘आत्महत्या हो’ बाबुलाल रैदासले आत्महत्या गरेको दाबी प्रहरीको छ । ‘हिरासतमा रहेका उनले शौचालयमा आत्महत्या गरेका हुन् । हामीले कसैलाई मार्ने कुरै भएन । टाउकोमा बेरिएको कपडाले शौचालयको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएका थिए,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले भने । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बाबुलालले घटनाको सोधपुछका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेकाले अभद्र व्यवहार मुद्दा दर्ता गरिएको उनले बताए । ‘टाउकोमा बाँधेको कपडा (घुम्टो) को पासो लगाएर रैदासले शुक्रबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा आत्महत्या गरेका हुन्,’ प्रवक्ता खड्काले भने, ‘घटनाको छानबिनका लागि स्थानीयलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइरहेका छौं । अनावश्यक कसैलाई दुःख दिने नियत हाम्रो होइन । प्रहरीले सर्वसाधारणलाई किन दुःख दिनु र ?’कान्तिपुरमा खबर छ ।