NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सर्वसाधारणले पसिना बेचेर शेयर हालेको करिब ३६ करोड जोखिममा

भीमफेदी–कुलेखानी सुरुङ मार्गका नाममा नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका सर्वसाधारण र विभिन्न संघसंस्थाबाट सेयर उठाएको करिब ३६ करोड जोखिममा परेको छ । विदेशमा मजदुरी गरेर जोडेको रकमदेखि घरमा भएका बाख्राका पाठासम्म बेचेर स्थानीयले गच्छेअनुसार दश हजारदेखि दश लाखसम्म सेयर हालेका थिए । तर, विकासको असाधारण सपना देखाएर गरिबको पसिनासमेत लुटिएको छ ।  सरकारले ६ जेठ ०७० मा सुरुङ मार्ग निर्माणका लागि पूर्वाधार विकास कम्पनीलाई अनुमतिपत्र दिएको थियो । त्यतिवेलैदेखि स्थानीयबाट सेयर रकम उठाउन थालेको कम्पनीले अहिलेसम्म ३५ करोड ७६ लाख संकलन गरिसकेको छ । भीमफेदी र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाका अधिकांश सर्वसाधारणले सुरुङ मार्गमा सेयर हालेका छन् । तिनैमध्येका एक हुन्– भीमफेदी– ६ का नवराज राना । करिब आठ वर्षअघि दुबईको प्रचण्ड गर्मीमा मजदुरी गरिरहेका वेला श्रीमतीले फोन गरेर घरछेउबाटै सुरुङ मार्ग बन्ने खबर सुनाउँदा नवराज निकै हौसिएका थिए । निर्माण कम्पनीले स्थानीयलाई पनि सेयर दिने कुराले त उनलाई झन् पुलकित बनायो, मनमनै घरअगाडिको सुरुङबाट गाडी कुदेको देख्न थाले । ०७० मा उनले श्रीमतीको बैंक खातामा २० हजार रुपैयाँ पठाइदिए र फोन गरेर भने– यो पैसा अन्त खर्च नगर्नू, सुरुङ मार्गमा सेयर लगानी गर्नू ।  नवराजले भनेअनुसार उनकी पत्नीले आफ्नो र आमाको नाममा १०–१० हजारको सेयर खरिद गरिन् । तर, सात वर्षअघि गरेको लगानी अहिले बालुवामा पानी खन्याएझैँ भएको छ । पूर्वाधार विकास कम्पनीले सरकारबाट अनुमतिपत्र लिनु अघिदेखि नै भीमफेदी–कुलेखानी सुरुङ मार्ग बन्ने र त्यसमा जनतालाई पनि सेयर बाँडिने भन्दै पैसा उठाउने वातावरण बनाउन थालेको थियो, जसबाट भीमफेदी, कुलेखानी र सिस्नेरीका जनता निकै उत्साही पनि भइरहेका थिए । ०७० पछि धमाधम सेयर हाल्न थाले ।  हेटौँडा उपमहानगर– २ का राकेश शर्माले त ०७१ मा जग्गा बेचेर तीन लाख पाँच हजार लगानी गरेका छन् । सुरुङ मार्ग निर्माणका लागि सेयर आह्वान गरेको थाहा पाएपछि उनले हौसिएर हेटौँडामै रहेको नौ धुर जग्गा बेचेर आफ्नो नाममा दुई लाख पाँच हजार र छोरीका नाममा एक लाखको सेयर किनेका थिए । ‘सुरुङ मार्ग निर्माणपछि राम्रो लाभांश पाइने र आफ्नो लगानीले मुलुकको विकासमा पनि टेवा पुग्ने सोच बनाएर लगानी गरेको हुँ । त्यसताका मसँग पैसा थिएन, जग्गा बेचेर सेयर किनेँ,’ उनले भने । कम्पनीले तोकेको समयमा सुरुङ मार्ग निर्माण प्रक्रिया अघि नबढाएपछि लगानी ढुब्ने डरले आफूले विभिन्न सरकारी निकायमा रकम फिर्ताको माग गर्दै उजुरी दिए पनि सुनुवाइ नभएको शर्माले बताए । ‘कम्पनीले रकम फिर्ता गर्न नमानेपछि ०७५ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, भौतिक पूर्वाधार र गृह मन्त्रालय तथा तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयमा पनि उजुरी दर्ता गरेँ,’ उनले निराश हुँदै भने, ‘तर, हालसम्म पनि कुनै सुनुवाइ भएको छैन । मेरो उजुरी सरकारी निकायले नै दराजमा थन्क्याएर राख्यो ।’ नयाँ पत्रिकामा खबर छ ।