NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

देउवाले बालुवाटारमा ओलीसँग मागे यी पद

काठमाडौं । नेकपा विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेको विषयलाई धेरैले सम्भावित सत्ता समीकरणसँग जोडेर हेरेका छन् । सत्ता साझेदारीको विषय बाहिर आएपछि ढिलोगरी देउवा निकट स्रोतले प्रधानमन्त्री केपी ओलीलाई भेटेको पुष्टि गरेको छ । शनिबार दिउसो ओलीलाई भेट्न देउवा नेता रमेश लेखकसहित बालुवाटार पुगेका थिए । नेकपामा आन्तरिक संघर्ष उत्कर्षमा पुगेका बेला भएको भेटमा सत्ता साझेदारीको विषयमा छलफल गरेको भन्दै निरन्तर समाचार सम्प्रेषण भएपछि देउवा सचिवालयले भेटलाई लुकाउन सकेन । तर, देउवा निकट स्रोतले प्रधानमन्त्रीसँग छलफल भए पनि सत्ता साझेदारीबारे ठोस छलफल नभएको जानकारी दियो । ‘सभापति नेता रमेश लेखकसहित प्रधानमन्त्रीलाई भेट्न जानुभएको हो । तर, चर्चामा ल्याइएको जस्तो सत्ता साझेदारीबारे कुनै ठोस कुराकानी भएको भने होइन’ देउवा निकट स्रोतले भन्यो, ‘सभापतिको चासो तत्काल सत्ता साझेदारीको विषयभन्दा अरु नै थियो ।’ प्रधानमन्त्री र देउवाबीच मुख्यतया विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको थियो । यस अघि पनि नेकपामा जब शक्ति संघर्ष चल्छ तब ओलीले देउवालाई बोलाएर छलफल गर्ने गरेका छन् । यस अघि १७ असारमा पनि ओली र देउवाबीच संवाद भएकाे थियाे । देउवाले तत्काल भेटबारे गाेप्य राखेका थिए । तर, पार्टीभित्रै विराेध भएपछि देउवाले भेट भएकाे स्वीकारेका थिए । आफ्नो पक्षमा माहोल बिग्रदा देउवालाई बोलाएर ओलीले सत्ता साझेदारीको प्रस्ताव गरेको यस अघि पनि समाचार आएका थिए । तर, आफू अप्ठ्यारोमा पर्दा देउवालाई बोलाएर आफ्नै गुटका नेतालाई ओलीले सन्देश दिएको बुझिन्छ । ‘मुख्यगरी विश्वविद्यालयमा नियुक्त गर्न बाँकी पदाधिकारीका विषयमा सभापतिको चासो थियो’ देउवा निकट स्रोतले नेपालवाचसँग भन्यो, ‘विश्वविद्यालयमा नेकपा निकटका भिसी भएको ठाउँमा कांग्रेसका तर्फबाट रजिष्ट्रार र कांग्रेसको भिसी भएको ठाउँमा नेकपाको तर्फबाट रजिष्ट्रार नियुक्ति गर्ने पहिलेको सहमति हो । तर, यी दुवैमा नेकपाले भटाभट आफ्ना मान्छे पार्न खोजेपछि समस्या भएको हो ।’ त्रिभुवन विश्वविद्यालय, नेपाल कृषि तथा वन विश्वविद्यालय, सुर्खेतको मध्य पश्चिमाञ्चल, विश्वविद्यालयसहितका विश्वविद्यालयमा भागबण्डा गर्ने सहमतिलाई प्रधानमन्त्रीले लत्याएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । तर, ओलीले खुलेर भागबण्डामा दिने पदबारे प्रष्ट कुरा नराखेकाे देउवा निकट स्राेत बताउँछ । आफूहरुको भागमा परेका ठाउँमा पनि नेकपाको सिफारिसमा परेपछि देउवा असन्तुष्ट बनेका हुन् । ‘हाम्रो भागमा परेका ठाउँमा पनि सत्तारुढ निकटकै पदाधिकारी चयन गरेपछि कांग्रेसको असन्तुष्टि हो’ देउवा निकट स्रोतले भन्यो, ‘संवैधानिक परिषद्को बैठक डाक्न आग्रह पनि गरिएको छ । तर, नेकपाको घरझगडा नमिली बैठक बस्ने देखिएको छैन ।’ पहिले भएको सहमति अनुसार एकएक पद लिएर जानुपर्ने देउवाको भनाई थियो । देउवाले अख्तियार, निर्वाचन आयोगसहितका बाँकी संवैधानिक विभिन्न पदहरुमा पनि आफ्नो पार्टीले प्रष्ट भागबण्डा पाउनुपर्ने विषय प्रधानमन्त्रीसँग राखेका थिए । देउवाले अख्तियार र निर्वाचन आयोगमा एकएक आयुक्त मागेका छन् । अरु आयोगका सदस्यमा पनि देउवाले प्रष्ट रुपमा भागबण्डा माग्दै आएका छन् । कहाँ कति पद खाली ? संवैधानिक आयोग कहाँ कति रिक्त ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग– २ आयुक्त राष्ट्रिय मानव अधिकार आयोग – अध्यक्ष र चार सदस्य निर्वाचन आयोग– २ आयुक्त राष्ट्रिय प्राकृतीक स्रोत तथा वित्त आयोग – चार सदस्य राष्ट्रिय महिला आयोग– अध्यक्ष र चार सदस्य राष्ट्रिय दलित आयोग– अध्यक्ष र चार सदस्य समाबेशी आयोग– अध्यक्ष र तीन सदस्य आदिवासी तथा जनजाती आयोग– अध्यक्ष र चार सदस्य मधेसी आयोग–चार सदस्य थारु आयोग– चार सदस्य मुस्लिम आयोग– चार जना सदस्य यो पनि पढ्नुस् संवैधानिक परिषद् बैठक : यी पदमा ओलीसँग देउवाको दाबी रहने