NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महिनामै एक लाख पर्यटक मानहुँकोट पुगे : वडाध्यक्ष भन्छन् – उजाडिएको बस्ती जुर्मुराएको छ

काठमाडौं । कोरोना महामारीका कारण घरबाहिर निस्किन नपाएका मानिसहरू हजारौंको संख्यामा अहिले तनहुँ पुगिरहेका छन् । व्यास नगरपालिकास्थित मानहुँकोट डाँडाबाट देखिने कुहिरोको आकर्षक दृष्य अवलोकन गर्न मानिसहरू टाढाटाढाबाट त्यहाँ पुगिरहेका छन् । यसअघि खासै चर्चामा नरहेको यो डाँडालाई सामाजिक सञ्जालले भाइरल बनाएको हो । यो डाँडामा आउने मानिसहरूको व्यवस्थापन गर्नै अहिले त्यहाँको स्थानीय तहलाई धौधौ छ । दशैंयतामात्र एक लाख भन्दा बढी मानिसहरू मानहुँकोटमा पुगिसकेका व्यास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मानहुँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन नगरपालिकाले साम्भव्यता अध्ययन गरिरहेको छ । मानहुँकोटको अबको विकास, पर्यटनले ल्याएको परिवर्तन लगायतका विषयमा वडा अध्यक्ष श्रेष्ठसँग नेपालवाचले गरेको कुराकारनीको सम्पादित अंश । खासै नाम नसुनिएको मानहुँकोटमा एक्कासी मानिसहरू किन झुम्मिएका होलान् ? यसमा सञ्चारमाध्यमका साथीहरूको ठूलो योगदान छ । बन्दबन्दीमा गुम्सिएकाहरू भ्रमणमा आउनुभयो । उहाँहरूले नै फेसबुक, इन्स्टाग्राम र टिकटकमा यहाँका फोटो भिडियो राख्न थालेपछि यहाँको व्यापक प्रचार भएको हो । अहिले मानिसहरू आउने क्रम कस्तो छ ? कति मानिस आउँछन् ? मानहुँकोट यसअघि खासै चिनिएको ठाउँ होइन । गत वर्षसम्म सातामा चार/पाँच सय मानिसहरू आउँथे । तर, अहिले यहाँ आउने मानिसहरूको संख्या ह्वात्तै बढेको छ । दशैंयतामात्रै एक लाख भन्दा बढी मानहुँकोट पुगिसकेका छन् । मानहुँकोटको मुख्य विशेषता के हो ? कुन सिजनमा यहाँ घुम्न उपयुक्त हुन्छ ? कुहिरोले ढाकेको दमौली बजार र विहान उदाएको घामको दृष्य यहाँको मुख्य विशेषता हो । कुहिरो नलागेको समयमा पनि राजमार्ग र दमौली बजारको दृष्य मनोरम देखिन्छ । यहाँ आउने उपयुक्त समय असोज र कात्तिक हो । यहाँ आउने मानिसहरूको व्यवस्थापन कसरी गरिरहनुभएको छ ? हामीले कल्पनै नगरेको संख्यामा पर्यटक आएकाले भिड नियन्त्रण गर्नै हामीलाई सकस भयो । सुरक्षा मापदण्डलाई ख्याल गर्दै अहिले हामीले दिनमा तीन सय भन्दा बढीलाई प्रवेश नदिने भनेर सूचना जारी गरेका छौं । आउनुअघि वडामा जानकारी गरानुपर्ने व्यवस्था पनि गरेका छौं । त्यसकारण पनि पहिलाजस्तो भिडभाड अहिले छैन । पर्यटकको संख्या वृद्धि भएपछि मानहुँकोटमा कस्ता परिवर्तन आए ? पर्यटनले गर्दा मानहुँकोटमा धेरै परिवर्तन आएको छ । आर्थिकदेखि सामाजिक परिवर्तन देखिएका छन् । माथि डाँडामा पहिला ७० भन्दा बढी घर थिए, त्यो पनि बस्ती उजाडिएर घरको संख्या ७ वटामा झरेको थियो । ती ७ वटा घर पनि अहिले रेस्टुरेन्ट व्यवसायमा परिणत भएका छन् । डाँडामा मानिसहरू ओइरिन थालेपछि अहिले स्थानीयहरू यहाँ फर्किन थालेका छन् । उजाडिएको बस्ती जुर्मुराएको छ । जग्गा किनबेचमा रोक लगाउनुभयो, जग्गा किनबेच बढ्न थालेको हो ? जग्गा किन्नेको संख्या ह्वात्तै बढेपछि कम्तीमा पनि दुई महिनाको लागि किनबेचलाई रोक लगाएका हौं । अहिले जग्गा व्यवस्थापनका लागि जग्गा विकास कार्ययोजना तयार गर्दैछौं । बस्ती बढेर त्यहाँको प्राकृतिक सुन्दरतामा ह्रास नआओस् भनेर यसो गरेका हौं । यहाँको मौलिक परम्पर झल्किनेगरी नै पूर्वाधार निमार्ण होस् भन्ने हिसाबले अहिले यसको अध्ययन गरिरहेका छौं । मानहुँकोटको जग्गा जनप्रतिनिधिबाटै हडप्ने काम त हुँदैन नि ! हामीबाट यस्तो काम हुँदैन र गर्न पनि दिँदैनौं । यस्तो नहोस् भनेर नै जग्गा किनबेचमा रोक लगाइएको हो । २० हजार प्रति आना पर्ने जग्गा चार लाख प्रति आनामा किनबेच हुन थालिसकेको थियो । यसमा धेरै चलखेल नहोस् भनेरै यो काम गरेका हौं । पूर्वाधारहरू पर्याप्त देखिँदैनन्, यति पर्यटक आउने ठाउँमा पूर्वाधारको कमी किन देखिएको ? दृष्यावलोकनको सहजताका लागि दुई वर्षअघिदेखि यहाँ टावर निर्माणको काम चलिरहेको छ । टावर बनेपछि दृष्यावलोकन सहज हुन्छ । अहिले सार्वजनिक शौचालय निर्माण भइरहेका छन् । यसपछि एकीकृत जग्गा विकासको कामसँगै त्यहाँको साम्भाव्यता अध्ययन गरी थप के गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि नयाँ योजना के छन् ? यसका लागि हाम्रो प्राविधिक टोलीले पूर्वाधार विकासको गुरुयोजना बनाउँदै छ । प्रतिवेदन प्राप्त भएपछि काम अघि बढ्छ । कोरोना संक्रमणका कारण सोचेजति काम गर्न सकिएको छैन । प्रदेश सरकारले पनि यसमा चासो देखाएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आएर अवलोकन पनि गर्नुभयो । उहाँले पनि चासो व्यक्त गर्नुभएको छ । हालै भएको नगरपालिकाको बैठकमा पनि हामीले यहाँको सडक निर्माणको माग गरेका छौं । सम्भाव्यता अध्ययनपछि के गर्न सकिन्छ भन्नेबारे संघीय सरकारसँग पनि छलफल गर्ने तयारीमा छौं । तनहुँ जलविद्युत परियोजनाको ताल पनि मानहुँडाँडाको दक्षिणतिर बन्दै छ । यसले पनि यहाँको सुन्दरता थप बढाउँछ ।