NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आफूसँग भेट्न आएका नेतासँग प्रचण्डले भने – मेरो बेइज्जत गर्दै हिँड्नेलाई ओलीले नियुक्ति दिए

काठमाडौं । पार्टी एकतालाई जोगाउन भन्दै स्थायी कमिटी सदस्यहरूले नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नेकपाका स्थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलले सोमबार विहान प्रचण्डलाई भेटेका हुन् । आफू पार्टी एकताकै पक्षमा रहेको र सोचेजस्तो अवस्थामा पनि नरहेको भेटमा प्रचण्डले बताएका छन् । ‘परिस्थिति सोचेजस्तो छैन, प्रधानमन्त्रीजीले पनि प्रस्ताव ल्याउँछु भन्नुभएको छ,’ प्रचण्डको भनाइ उदृध गर्दै नेता गजुरेलले भने, ‘१३ गतेको बैठकमा आएपछि दुवै प्रस्ताव छलफलका लागि तपाईंहरू भएकै ठाउँ (स्थायी समिति) हुँदै केन्द्रीय समितिमा पुग्छ ।’ ‘मेरो बेइज्जत गर्नेलाई ओलीले नियुक्ति दिए’ पार्टी विभाजनका लागि प्रधानमन्त्री ओली समूह लागिरहेको र त्यो प्रयास सफल नहुने बताएको पनि नेता गजुरेलले बताए । ‘ओलीजी आफैंले पार्टीको निर्णय मान्नुभएन, विभाजनको गतिविधि गर्दै हिँड्नुभयो,’ प्रचण्डको भनाइ उदृध गर्दै गजुरेलले भने, ‘पछिल्लो समय त मलाई तल्लो स्तरमा झरेर गालीबेइज्जती गर्नेदेखि अफवाह गर्नेसम्मलाई नियुक्ति गर्नुभयो ।’ ओलीबाटै पार्टीमा समस्या सृजना भएको प्रचण्डको आरोप छ । आफूहरूले पार्टी एकतालाई जसरी पनि बचाउनुपर्ने राय व्यक्त गरेको गजुरेलले बताए ।प्रचण्डसँग उनीहरूले आधा घण्टा भेटेका थिए ।