NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

१९ दिनभित्र कोरोना खोप आउने अमेरिकी सरकारको दावी

काठमाडौं । आगामी १९ दिनभित्र कोरोनाविरुद्वको खोप ल्याउने दावी अमेरिकी अधिकारीहरूले गरेका छन् । अमेरिकाको फाइजर कम्पनीले यो खोप ल्याउन लागेको हो । आपत्कालीन अवस्थामा खोपको प्रयोगका लागि अमेरिकी कम्पनी फाइजर एण्ड बोयोएनटेकले गत शुक्रवार अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए)मा आवेदन दिएको थियो । एफडीएको खोप सम्बन्धि परामर्श समितिको बैठक १० डिसेम्बरमा बस्दैछ । बैठकले फाइजर कम्पनीलाई खोप प्रयोगका लागि अनुमति दिएको २४ घण्टाभित्रमै अमेरिकाको जनताले पहिलो खोप पाउने अमेरिकाको खोप कार्यक्रम प्रमुख मोन्सेफ स्लावीले सिएनएनलाई बताए । दुई पटक लगाउनु पर्ने फाइजर कम्पनीको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको कम्पनीको दावी छ । स्लावीले आफ्नो योजना अनुसार सबै तयारी पूरा भएमा डिसेम्बरको ११ वा १२ तारिकबाटै अमेरिकी नागरिकले कोरोना विरुद्धको खोप प्राप्त गर्ने बताएका छन् । ‘मलाई लाग्छ खोपको लागि स्वीकृत पाएको दुई दिन भित्रमा डिसेम्बर ११ वा १२ गतेबाटै अमेरिकीले पहिलो खोप पाउनेछन्,’ सिएनएनसँगको कुराकानीमा मोन्सेफ स्लावीले भने । अमेरिकी कम्पनी फाइजरले पनि डिसेम्बरको ११ बाटै कोरोना विरूद्धको खोप लगाउन सकिने बताएको छ । स्लावीले सुरुमा खोप कसलाई भन्ने दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए । यद्यपी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अग्रपंतिमा खट्ने कामदार तथा वृद्धवृद्धाले सुरुमा कोरोना विरूद्धको खोप प्राप्त गर्नेछन् । बाँकी जनसंख्याले भने आउँदो मे सम्ममा कोरोना विरूद्धको खोप प्राप्त गर्ने स्लावीले प्रष्ट बताए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएपछि अमेरिकाको खाद्य तथा औषधी विभागले आपतकालीन अवस्थाको प्रयोगका लागि कोरोना विरुद्धको औषधी तथा खोपलाई मान्यता दिँदै आएको छ । जोन हप्किन्स विश्वविद्यालयका तथ्यांक अनुसार अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देश हो । अमेरिकाका हालसम्म एक करोड भन्दा जनसंख्या कोरोनाबाट संक्रमित छन् भने साढे दुई लाख मानिसले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । अमेरिकाकै अर्को कम्पनी मोर्डनाको खोप पनि ९५ प्रतिशत प्रभावकारीता देखिएको छ । त्यसैको आधारमा मोर्डनाले पनि आगामी हप्ता खोप प्रयोगका लागि एफडीएसित अनुमति लिने तयारी गरेको छ ।स्रोत : सिएनएन