NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चक्रपथ दोस्रो खण्ड विस्तार : कलंकीदेखि चावहिलसम्मको निर्माणस्थल खाली गरियो

काठमाडाैं । चक्रपथको दोस्रो खण्ड कलंकी – चावहिल (गोपीकृष्ण हल नजिक) सम्मको सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम लगभग सकिएको छ । चीन सरकारले निर्माण सुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम चलिरहेको छ । उक्त खण्डमा निर्माणस्थल खाली गर्ने काम लगभग ९७ प्रतिशत सकिएको छ । उक्त सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको र त्यसमध्ये हालसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौँ चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैँअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिसँग बैठकमा बसेको थियो । तर, यो विषय अझै टुंगिएको छैन । ‘छिट्टै बैठक बसेर मुआब्जाको विषय टुंग्याएर अघि बढ्छौं ।’ सुवालले भने । नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन पोललाई मोनो पोल बनाएर हटाउन लागेको पनि सुवालले जानकारी दिए । सानो भर्याङ र कारखाना चोकमा बालाजुतर्फ जाने विद्युत्का लागि मोनो पोल बनाउन लागिएको हो । उनले भने, ‘प्राधिकरणले ठेक्का निकाल्न लागेको छ, दुई महिनामा सक्ने तयारी छ ।’ काठमाडौँ महानगरपालिकाले स्वयम्भू नजिक रहेको चैत्य स्थानान्तरणका लागि प्रक्रिया अघि बढाएको छ । कामपाले ठेक्का अघि बढाएकाले केही समयमा सडकको अधिकार क्षेत्र खाली हुने उनको भनाइ छ । आयोजनाले यसअघि नै सडकमा रहेका रुख काट्न र बिजुलीका खम्बा हटाउने काम गरिसकेको छ । खम्बा सारेर पनि तार तान्न बाँकी रहेकाले अब चाँडै अघि बढाइने सुवालले बताए । दुई महिनाअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडकमा बाँकी संरचना हटाउनका लागि समन्वय गर्न विभिन्न निकायका प्रतिनिधिसँग बैठक गरेर जिम्मेवारी बाँडफाँट गरेको थियो । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) मा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले चिनियाँ पक्षले निर्माणस्थल खाली भएपछि मात्रै काम सुरु गर्ने बताएको छ । कोटेश्वर–कलंकी सडक निर्माण गरिएसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । गोरखा भूकम्प पहिले नै कोटेश्वर–कलंकी सडक विस्तारको काम सुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, बिजुलीका खम्बा र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला निम्तेका समस्या पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको छ । चक्रपथ दोस्रो खण्डमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनका बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले सकेसम्म चाँडो निर्माणस्थल खाली गरेर हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको छ । पहिलो चरणको विस्तारमा रहेको कमजोरी हुन नदिने गरी डिजाइन गरिएको विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलंकी सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकामा अब डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपास र चार लेन माथिल्लो सडकमा हुनेछ । सो सडकमा पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक किलोमिटरमा एउटा आकाशे पुल निर्माण हुने भएको छ । सो सडकखण्डमा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भएको छ ।