NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कोरोना नियन्त्रणका नाममा अनियमितता गर्ने सप्तरीको नगरपालिकामा अख्तियारको छापा

काठमाडौं । सप्तरीको बोदे बसाइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको उजुरीपछि आयोगको इटहरी कार्यालयले नगरपालिकामा छापा मारेको हो । नगरपालिकाबाट अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ । नगरपालिकाले गत २६ कात्तिकमा कोरोना रोकथाम तथा नियन्त्रणमा दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा ‘लाइफब्वाइ’ साबुनको प्रतिगोटा मूल्य तीन हजार आठ सय ३१ मा खरिद गरिएको उल्लेख भएपछि चर्को आलोचना भएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए । नगरपालिकाले ३ मंसिरमा पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थियो ।शीर्षकअनुसार खर्च गरी बिल भर्पाइ राखिएको र सार्वजनिक गरिएको आय–व्यय हिसाबको ‘प्रिन्ट मिस्टेक’ भएर सञ्चारमाध्यममा भ्रामक समाचार पुगेको नगरप्रमुख आतेशकुमार सिंह यादवले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले समेत खर्च विवरणमा ‘प्रिन्ट मिस्टेक’ भएकाले खर्च विवरण बढी देखिएको बताउँदै एक करोड २७ लाख २९ हजार चार सय २९ कोरोना शीर्षकमा खर्च भएको जानकारी दिए । बोदे बसाइन नगरपालिका कार्यालयले २०७६ चैत २२ गते ९५ वटा साबुन तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँमा खरिद गरिएको प्रमाणित खर्च विवरणमा देखाएको थियो । टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा कर्मचारीको कमजोरीले ९५ वटा भएको नगरप्रमुख यादवको जिकिर छ । सार्वजनिक गरिएको हिसाबको अर्को शीर्षकमा भने साबुनको प्रतिगोटा दुई सय ९९ रुपैयाँका दरले खरिद गरिएको उल्लेख छ । अर्को शीर्षकमा एक हजार चार सय ४० वटा लाइफब्वाइ साबुनलाई चार लाख ३१ हजार नौ सय ५५ मा खरिद गरिएको हिसाब देखाइएको छ ।