NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

तराईका फाँटसँगै सगरमाथा, मकालु, जस्ता दृश्य देखिने टेम्केडाँडामा भ्यु टावर निर्माण सुरु

भोजपुर । प्रदेश नं १ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा भ्यु टावर निर्माण शुरु गरेको छ । यससँगै स्थानीयवासी उत्साहित छन् । प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको १३ करोड रुपौयाँ भन्दा बढी लागतमा भ्यु टावर निर्माण शुरु गरेको हो । टेम्केडाँडाबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत ८ हजार मिटर अग्ला ६ वटा र अन्य ३३ वटा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक भ्यु टावर निर्माण शुरु भएपछि आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको छ । टेम्केडाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ भ्यु टावर निर्माण शुरु गरिएको छ । टावर निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए । गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी आकर्षक भ्यु टावरको निर्माण शुरु भएको बताएको छ । भ्यूटावर निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ल्याउने र स्थानीयबासिन्दाको आम्दानीका स्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ । प्रदेश नं १ को मुख्य पर्यटन आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ यसको डिजाइन भएको छ । यसको नजिकै तावा भञ्याङमा पोखरी निर्माण गर्ने लक्ष्यका साथ अन्य काम हुनेछ । यसले यहाँको मात्र नभएर प्रदेशकै पर्यटनमा टेवा पु¥याउने योजनाका साथ काम हुन्छ । सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यता तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सके प्राकृतिक प्रेमीहरुका लागि यो उत्तम गन्तव्य बन्न सक्ने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । किराँत पहिचान जोडिएको नेपालमा नै विशेष प्रकारको टावर बन्ने मुख्यमन्त्री शेरधन राईको भनाइ छ । प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको टावर किराँत राईहरुको पहिचान झल्कने तरिकाबाट डिजाइन गरिएको छ । टावर २० मिटर अग्लो रहने छ भने टावरको पहिलो तलामा म्यूजियम रहने छ । भोजपुर र खोटाङको सिमानामा रहेको टेम्केडाँडामा शिलान्यास गरिएको टावर किराँतहरुको पहिचान झल्कने गरी बन्ने मुख्यमन्त्री राईले बताए । यसले पर्यटनसँगै भाषा संस्कार संस्कृतिको संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ । टेम्केडाँडामा किराँत परिचानको रुपमा रहेको चिन्डो आकारमा भ्यु टावर निर्माण गरेर नेपालकै नमूना टावर बनाउने प्रदेश सरकारको लक्ष्य छ ।