NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चार लाख विदेशीलाई नेपाली नागरिकता, अधिकाशं भारतीय

काठमाडौँ । सरकारले विभिन्न देशका ३ लाख ७७ हजार २ सय ३५ जनालाई अंगीकृत नागरिकता वितरण गरेको छ । दुई करोड १२ लाख ६५ हजार ४ सय ९३ वटा नागरिकता जारी गर्दा ३ लाख ७७ हजार २ सय ३५ लाई अंगीकृत नागरिकता वितरण गरेको गृह मन्त्रालयको तथ्यांकले देखाएको हो । यसरी अंगीकृत नागरिकता प्राप्तगर्नेहरुमध्ये वैवाहिक अंगीकृतको संख्या अधिक रहेको छ । हालसम्म ३ लाख ३७ हजार ६ सय ५५ जनाले नेपालबाट वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार त्यसरी वैवाहिक नागरिकता प्राप्त गर्नेहरु अधिकाशं भारतीय नागरिक रहेको जनाएको छ । नेपाली पुरुष नागरिकसँग विवाह गर्ने र त्यही विवाहका आधारमा नागरिकता प्राप्त गर्ने भारतीय महिलाको संख्या अधिक रहेको तथ्यांकले देखाएको हो । कहाँ कति छन् अंगीकृत नागरिक ? सबैभन्दा धेरै अंगीकृत नागरिकता जारी गर्ने जिल्ला महोत्तरी रहेको छ । महोत्तरीबाट ३४ हजार ५ सय ९१ जना विदेशी नागरिकलाई वैवाहिक अंगीकृत नागरिकता जारी गरिएको छ । अन्य ४८ जनालाई अंगीकृत शीर्षकबाट नागरिकता दिइएको छ । यस्तै धनुषा जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म २९ हजार १३ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ । धनुषाबाट वैवाहिक नागरिकता प्राप्त गर्नेमध्ये १३८ जना पुरुष छन् । यस्तै गरि जिल्ला प्रशासन कार्यालय सिरहाले १६ हजार १ सय २ जनालाई र सप्तरीले २० हजार २ सय ५२ जनालाई अंगीकृत वैवाहिक नागरिकता वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ११ हजार ४ सय ७५ जना, झापाले ६ हजार ४ सय ५१, इलामले १ हजार ५ सय २१ जना र सुनसरीले ५ हजार ५ सय ९२ जनालाई अंगीकृत वैवाहिक नागरिकता वितरण गरेको छ । ठूलो संख्यामा अंगीकृत नागरिकता वितरण गर्ने जिल्लाहरुमा बारा, पर्सा र रौतहट पनि रहेका छन् ।रौतहट जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म २८हजार ६ सय ४७ जना विदेशी नागरिकलाई अंगीकृत नेपाली नागरिकता दिएको छ । यस्तै बाराले २३ हजार ४ सय ७८ जना र पर्साले २३ हजार २ सय ३४ जना विदेशी नागरिकलाई नेपाली अंगीकृत नागरिकता उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ठूलो संख्यामा विदेशी नागरिकलाई नेपाली नागरिकता उपलब्ध गराउनेमा नवलपरासी–पश्चिम, रुपन्देही र कपिलवस्तु पनि रहेका छन् । नवलपरासी–पश्चिमले २६ हजार ८ सय ८२ जना, रुपन्देहीले ३१ हजार १ सय २८ जना र कपिलवस्तुले ३२ हजार ५ सय ८२ विदेशी नागरिकलाई नेपाली नागरिकता उपलब्ध गराएको छ।

ताजा अपडेट

नेपालवाच विशेष