NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भारतमा उडान नहुँदा निगमलाई साढे दुई अर्ब घाटा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भारतमा उडान गर्न नपाउँदा दुई अर्ब भन्दा बढी घाटा व्यहोर्नु परेको छ । भारतमा उडान नहुँदा मात्रै गएको आठ महिनामा निगमले २ अर्ब ४९ करोड ४० लाख घाटा व्यहोर्नुपरेको हो । लामो समयको बन्दाबन्दी पछि गत असोज १५ बाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपनि भारतमा भने नियमित उडान हुन पाएको छैन । भारतले आउँदो नोभेम्बर ३० सम्मका लागि सेड्युल फ्लाइट बन्द गरेको छ । यसको विकल्पको लागि भारतले एयर बबल एग्रिमेन्टको व्यवस्था गरेको छ तर नेपालले भने उक्त सम्झौता गर्न मानेको अवस्था छैन । हालसम्म भारतले ‘एयर ट्राभल बबल’ मार्फत २१ देशसँग दुईपक्षिय उडान सम्झौता गरिसकेको छ । यो सम्झौता मानेमा भारत उडानका लागि भारतीय नागरिक र उडान गर्न योग्य यात्रुलेमात्र सहभागी हुन पाउनेछन् । महामारीको अवस्थालाई मध्येनजर गरेर भारतले आगामी मार्च २०२१ सम्म नै अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवसायिक उडान नगर्ने र एयर बबल्स सम्झौतामै अडिग रहन सक्ने बताइन्छ । यता निगमलाई भारत उडान हुन नपाउँदा चरम घाटा व्यहोर्नुपरेको बताउँछन् नियमका महाप्रबन्धक डिम प्रकाश पौडेल । ‘कम्तीमा एयर बबल्स सम्झौता भएपनि उडानमा केही राहत हुन्थ्यो । हप्तामा तीनवटा भएपनि फ्लाइट हुन्थ्यो,’ उनले भने ।  गत असोज १५ बाट सेड्युल फ्लाइट खुलेपछि निगमले दुईवटा वाइडबडी ए३३० मार्फत अन्तर्राष्ट्रितर्फ कतारको दोहा, जापानको नारिता, र हङकङमा उडान गर्दै आएको थियो । त्यसमा पनि नक्कली रिपोर्टका यात्रु ल्याएको भन्दै हङकङले तेस्रो पटक उडान प्रतिबन्ध लगाएको छ । कोभिडका कारण नयाँ दिल्लीको उडान अझै अन्योलमै छ भने नारिताका लागि पर्याप्त यात्रु छैनन् । हङकङको तेस्रो पटकको प्रतिबन्ध नोभेम्बर २५ मा खुल्दै छ ।