NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोनाविरुद्धको खोपका लागि आग्रह गर्दै नेपालले पठायो कूटनीतिक नोट

काठमाडौं । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाएको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टेलियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । कोभिड–१९ विरुद्धको खोप नआएसम्म मानिसको दैनिक दिनचर्या सहज नहुने भएपछि संसारमा कोरोनाको खोप विकास गरिरहेका मुलुकलाई सरकारले कुटनीतिक नोट पठाएको हो । राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउदैँ स्वास्थ्यमन्त्री ढकालले भने, ‘ठूलो संख्यामा होम आइसोलेसनमा बसेका बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्याउनु र रेखदेख गर्नु अहिलेको मुख्य चुनौती हो ।’ कोभिड–१९ बाट मुलुकमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना सङ्क्रमित भइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार ८५९ छ । ८० प्रतिशतलाई लक्षण देखिन्न संक्रमतिमध्ये ८० प्रतिशतभन्दा बढीलाई लक्षण नदेखिने कारणले केहीलाई यो रोग केही होइन भन्ने मनोवैज्ञानिक भ्रम परेको चिकित्सक बताउँछन । सक्रिय सङ्क्रमितमध्ये हाल ८२ प्रतिशत नागरिक होम आइसोलेसनमा छन् । कोभिड–१९ को नेपालमा हालसम्म १६ लाख ५० हजार भन्दाबढीको पिसीआर परीक्षण भइसकेको छ । अहिले मुलुकका ७६ स्थानमा परीक्षणको व्यवस्था गरिएको छ । सरकारले औषधिको सहज आपूर्तिका लागि आयात गर्न आवश्यक ऐन कानूनलाई परिमार्जन गरिसकेको जानकारी दिएको छ । धेरैभन्दा धेरै अस्पतालमा अक्सिजनसहित शय्या व्यवस्थापन र सहजरूपमा औषधि आपूर्ति गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । खोप उत्पादन हुनसाथ सरकार–सरकारबीचको सहमति तथा विश्व स्वास्थ्य सङ्गठनलगायतका सङ्घसंस्थाका माध्यमबाट समेत ल्याउने योजना बनाइएको छ । कोरोनाले विश्वका शक्ति र सामथ्र्य भएका मुलुकलाई समेत तहसनहस बनाएका जनाउँदै सरकारले निःसन्देह महामारी विरुद्ध सबै लिङ्ग, जाति, क्षेत्र भूगोल र समुदाय एकाकार भई अभियानमा जुट्न पटकपटक आह्वान गरेको छ । २० प्रतिशतलाई खोप सुनिश्चित केही ढिलो भए पनि कुल जनसंख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले भने, ‘अरु देशका नागरिकले खोप प्रयोग गर्दा हाम्रा नागरिकले पनि प्रयोग गर्न सकुन् भनेर सरकार त्यो काममा जुटिरहेको छ ।’ अहिलेसम्म १२ वर्षमुनि उमेरका बच्चाका लागि खोप बनेको छैन । उक्त उमेर समूहभन्दा माथिका लागि लगाउने भनिएको भ्याक्सिनको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् । तेस्रो चरणमा रहेका मध्ये कुन खोप पहिला आउँछ भनेर अहिले नै निक्र्योल गर्ने अवस्थामा नरहेको बताउँदै प्रवक्ता गौतमले भने, ‘अहिलेसम्मको खोपको परीक्षणको नतिजालाई आधार मान्दा आगामी मार्च महिनासम्ममा खोप आउँछ कि भन्ने अनुमान गरिएको छ ।’ खोपलाई ६० अर्ब खोपको प्रभाव, मूल्य र आउने सुनिश्चितता अझै यकिन भइसकेको छैन । गाभी–कोभ्याक्स नामक संस्थाले नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने लागत मूल्यको २० प्रतिशत सहुलियत मूल्यमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने वचन दिइसकेको छ । कोभिड विरुद्धको खोपका लागि ६० अर्ब भन्दा बढी लाग्ने अनुमान सरकारको छ । तर, उक्त रकम व्यवस्थापन चुनौतीपूर्ण भएको सरकार बताउँछ । नेपालमा उक्त खोप प्राप्त भइसकेपछि सबैभन्दा पहिला कसलाई दिने भनी प्राथमिकता निर्धारण पनि सरकारले गरिसकेको छ । सम्भावना, प्रभावकारी र मुलुकको क्षमताका आधारमा ती खोपको छनोट हुने मन्त्रालय बताउँछ ।