NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

भाटभटेनीदेखि एनआरएनसम्मले हडपे रोक्का गरिएको बालुवाटारको सरकारी जग्गा (भिडियो रिपोर्ट)

https://www.youtube.com/watch?v=DKXmfMyT69s भिडियो : अनिल लिम्बु, सम्पादन : शालिक भट्ट काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लगेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‌याे । सरकारी जग्गा व्यक्तिको नाममा लैजान पूर्वप्रधानमन्त्रीहरूसहितको संलग्नता औंल्याएको अख्तियारले पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्रीहरू, पूर्वसचिवहरू र अख्तियारका पूर्वप्रमुख आयुक्तसमेतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो । प्रतिवादीहरूविरुद्ध अख्तियारले नौ अर्ब आठ करोड १४ लाख बिगो माग दावी गरेको थियो ।एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेको दावी अख्तियारको थियो । यो मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । अभियुक्तहरूसँग अदालतमा बयान चलिरहेकाे । अदालतले मुद्दा दायर गरेसँगै एक सय ३६ रोपनी नै जग्गा रोक्का छ । तर, रोक्का रहेको जग्गामा अहिले धमाधम संरचना बनिरहेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ४ बाट प्राप्त तथ्यांक अनुसार अहिले बालुवाटारको रोक्का रहेकोमध्ये करिब २० रोपनी जग्गामा संरचना बनेका छन् । त्यसमध्ये कतिपयले जग्गा रोक्का रहे पनि संरचना बनाइरहेका छन् । रोक्का रहेकै जग्गामा भाटभटेनी सुपरमार्केटको भवन छ । भाटभटेनीले एउटा भवन बनाइसकेको छ भने अर्को निर्माणको क्रममा छ । भाटभटेनीले करिब १० रोपनी क्षेत्रफलमा आफ्ना संरचना बनाएको छ । त्यस्तै, गैरआवासीय नेपाली संघले पनि रोक्का रहेकै जग्गामा भवन बनाएको छ । रोक्का रहेको जग्गामा महेश राजा तुलाधर, सन्ध्या शाक्य, सरिता मानन्धर, रेणुका बज्राचार्य, शर्मिला शाक्य, धर्मशोभा शाक्य, पूजन श्रेष्ठ, ओमबीरमान ताम्राकार लगायतको घर तथा संरचना बनेकाबनिरहेका छन् । रोक्का रहेका जग्गामै नक्सा पास गरेर घर बनिरहेका छन् ।