NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सरकार र विश्व स्वास्थ्य संगठनले नै कोरोना उपचारमा उपयोगी नमानेको रेम्डेसिभिर धमाधम बिक्री

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर औषधी उपयोगी नहुने ठहर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । मन्त्रालयले उक्त औषधी प्रयोग नगर्दा पनि हुने र त्यसले कोरोना संक्रमणको उपचारमा सहयोग नपुर्याउने निष्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको उपचारमा ‘रेम्डिसिभिर’ औषधी उपयोगी नभएको रिर्पोट पाँच दिन अघि सार्वजनिक गरेको थियो । ‘मेटा एनालिसस’ का आधारमा संगठनले यो औषधीको दुष्प्रभाव नरहे पनि कोरोनाको उपचारमा भने प्रभावी नरहेको बताएकोे थियो । संगठनको सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले उक्त औषधी प्रयोग नगर्न सुझाएको छ । यद्यपी, उक्त औषधी प्रयोग गर्दा पनि हानी नगर्ने र चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्न मन्त्रालयले भनेको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यो औषधी नेपाल ल्याएको थियो । मन्त्रालयको तथ्यांक अनुसार भारतले दुई हजार र बगंलादेशले पाँच हजार भाइल रेम्डेसिभिर नेपाललाई अनुदान स्वरूप उपलब्ध गराएको थियो । त्यसबाहेक, ६ हजार भाइल औषधी नेपाल सरकारले खरीद गरी ल्याएको थियो । उक्त औषधी प्रयोगका लागि विभिन्न अस्पतालहरुमा पठाइएको थियो । अहिले भने त्यसको मौज्दात लगभग सकिएकोमा भारत सरकारले नेपाल सरकारलाई सोमबार थप दुई हजार भाइल रेम्डिसिभर औषधी उपलब्ध गराएको मन्त्रालय बताउँछ । सरकार बाहेक निजी अस्पतालहरूले पनि ठूलो परिणाममा उक्त औषधी खरीद गरेर प्रयोग गरिरहेका छन् । नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल बजारमा रेन्डेसिभिर २० हजार भाइलको परिमाणमा मौज्दात छ । यो औषधिको बजार मूल्य प्रति भाइल न्युनतम चार हजार चार सय ८० रुपैयाँ छ । नेपालमा माइलन, सिप्ला, हिपेरो, व्याक्सिन्को तथा क्याडिला लगायतका कम्पनीले ‘रेम्डिसिभर’ औषधीको कारोबार गर्दै आएका छन् । कोरोना रोगको उपचारमा एउटा संक्रमितलाई छ भाइल देखि एघार भाइलसम्म रेम्डिसिभिर दिने गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ट्रायल परीक्षणका रुपमा यो औषधी प्रयोग गर्न सुझाएको थियो । परिषद्को सिफारिसपछि अस्पतालहरूले विरामीलाई यो औषधि चलाउँदै आएका छन् । ‘विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको उपचारमा यो औषधी उपयोगी नदेखिएको बताएपनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने यसबारे केही भनेको छैन,’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले भने, ‘परिषद्ले यसबारे थप निर्देशन नदिएसम्म हामी यो औषधि प्रयोग गरिरहन्छौं ।’