NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डोटीमा खरको छानोमुक्त अभियान

डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ । गाउँपालिकाले रकम अभावका कारण जस्तापाता खरीद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका स्थानियको घरमा जस्ताको छानो बनाइदिने अभियान थालेको हो । यो गाउँपालिकालाई जिल्लामै पहिलो खरको छानामुक्त गाउँपालिका बनाउने अभियान स्वरुप बजेट विनियोजन गरेर नै यो अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । गाउँपालिकाभित्र निम्न आय भएका ७०० घरधुरीको छानो खर र परालका छन । सबै घरका छानो हटाउन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेर त्यस्ता घरको छाना जस्तापाताले निःशुल्क छाउने अभियान शुरु गरेको अध्यक्ष गाड्सिलाले बताए । उनले भने, ‘निम्न आय भएका गाउँपालिकाभित्रका सबै नागरिकको खरको छाना हटाउने अभियान शुरु गरेका छौँ, निकट भविष्यमै हाम्रो गाउँपालिका खरको छानामुक्त पालिका हुनेछ ।’गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान शुरु गरेपछि अहिले त्यहाँका गाउँमा रहेका खरले छाएका घरमा जस्तापाता लगाउन थालिएको बताइएको छ । रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा गाजो (कयार) ले छाना छाउँदै आएका त्यहाँका नागरिकको घर गाउँपालिकाले निःशुल्करुपमा जस्ता पाताले छाइदिन थालेको गाउँपालिकाका प्रेस सल्लाहकार कर्णबहादुर चन्दले जानकारी दिए । निम्न आय भएकाको घरको छाना वर्षौंदेखि खर, पराल र गाजो (कयार) ले छाएका छन् । खरले घरको छाना छाउँदा आगलागी हुने तथा वर्षात्को समयमा चुहिने हुँदा यहाँका नागरिकलाई निकै समस्या हुँदै आएपछि गाउँपालिकाले खरको छानामुक्त अभियान सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताए । उनले भने, ‘खरको छानाले नागरिकलाई निकै सास्ती हुँदै आएको थियो, हामीले स्थानीय तहको निर्वाचनको समयमा खरका छाना हटाउने वचनबद्धता दिएका थियौँ, अहिले खरका छाना हटाउन थालेका छौँ ।’ गाउँपालिकाले चालू आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याइ खरको छानामुक्त बनाउने अभियान सञ्चालन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्खर सुचिकारले बताए । अहिलेसम्म कम्तीमा पनि ३०० को हाराहारीमा खरका छाना हटाइएको उनले जानकारी दिए । खरको छानामुक्त अभियान पहिलो चरणमा लेकाली क्षेत्रका बस्तीबाट शुरु गरिएको गाउँपालिकाले जनाएको छ । चिसो मौसम हुने तथा लेकाली क्षेत्रका ग्रामीण बस्तीका सबैजसो घरका छाना अहिले खरले छाइसकिएको गाउँपालिका अध्यक्ष गड्सिलालले बताए । उनले भने, ‘आगलागी बढी हुने तथा पानी बढी मात्रामा पर्ने यहाँका लेकाली क्षेत्रबाट हामीले खरको छाना हटाउन थालेका छौँ, प्रायः अधिकांश बस्तीका छाना हटिसकेका छन् ।’ खरको छाना हटाएर जस्तापाता लगाउन थालिएपछि यहाँका विभिन्न गाउँ रमणीय तथा झिलीमिली देखिन थालेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी कमलबहादुर बमले जानकारी दिए ।जिल्लामा स्थानीयवासीका खरले छाएका छानामुक्त गराउने अभियान सञ्चालन गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका बनेको छ । दुई नगरपालिका तथा सात गाउँपालिका रहेको डोटीमा अन्य गाउँपालिकाले अहिलेसम्म उक्त अभियान सञ्चालन गर्न सकेको छैन । गाउँपालिकाले पालिकाभरिमा रहेका सबै घर एकै रङका बनाउने अभियानअन्तर्गत खरका छाना हटाउने अभियान शुरु गरेसँगै त्यहाँका घर अहिले रमणीय तथा मनमोहक बनेका अर्का स्थानीय गणेशबहादुर बमले बताए । उनले भने, ‘खरले छाएका सबै घरमा एकै किसिमका रङका छाना बनाइएपछि अहिले यहाँका गाउँघर होमस्टेजस्तै मनमोहक बनेका छन्, घर पनि सुन्दर र चिटिक्क बनेका छन् ।’ घरका छानामा एकै रङका जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्यसमेत बढेको स्थानीयवासी बताउँछन् । जस्तापाताले घर छाउन थालिएपछि खरको छानो भएको एउटा घरमा आगलागी भए गाउँनै जलेर खरानी हुने त्रास पनि हटेको उनको भनाइ छ । खरको छाना हटाउँदापछि प्रयोग गरिने काठबाहेक अन्य सबै खर्च गाउँपालिकाले ब्यहोर्दै आएको जनाइएको छ । ‘सबैलाई समान ढङ्गबाट जस्तापाता वितरण गरेका छौं,’ अध्यक्ष गड्सिलाले भने, ‘सडक र पुल निर्माण मात्रै विकास होइन, नागरिकलाई सुरक्षित रूपमा बसाउन पाउनु पनि स्थानीय सरकारको दायित्व हो ।’ विपन्न समुदायको आवासलाई सुरक्षित बनाएर गाउँको मुहार फेर्ने अभियानमा गाउँपालिका लागेको उनको भनाइ छ । खरका छाना हटाएर आफ्ना घरमा जस्तापाता लगाइएपछि त्यहाँका स्थानिय निकै खुशी भएका छन् ।