NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नगरपालिकामा १० दिन लकडाउन

बैतडी । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । “सदरमुकाम रहेको नगर क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ, यसको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय गरेका हौँ ।” उनले भनिन् । लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न पाइनेछ । यस्तै अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ ।यसैगरी रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ । यस्तै नगर क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायतका निर्णय गरेको छ । यस्तै धार्मिकस्थल तथा मन्दिरमा नित्यपूजाबाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णयसमेत भएको छ । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ । कसैले अत्वाश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारिसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । उनले भने “भीडभाड कम गर्न तथा जोखिम कम गर्न अत्यावश्यक कामका लागि वडाको सिफारिस अनिवार्य गरेका हौँ ।”