NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओली र प्रचण्डबीचको तनावपछि सुरु भयाे नेकपाको बहुचर्चित बैठक

काठमाडौं । पार्टी फुट्नेसम्मको चर्चाबीच नेकपाको सचिवालय बैठक सुरु भएकाे छ । यस अघि अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमाथि आपत्ति जनाएका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले काउन्टर प्रस्ताव पेश गर्ने तयारी गरेकोले पनि आजको बैठक निक्कै महत्वपूर्ण मानिएको छ । ३ मंसिरको बैठकमा ओलीले आफूमाथि अनर्गल आरोप लगाइएको भन्दै प्रतिवाद गर्ने गरी प्रस्ताव ल्याउन १० दिनको समय मागेका थिए । सचिवालयले समय दिएपछि ओलीले आज प्रतिवाद प्रस्ताव पेश गर्न लागेका हुन् । प्रचण्डले ओली सरकारले प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचारलाई प्रश्रय दिएको, भ्रष्टाचारमा मुछिएको, गुटबन्दी गरेको, संघीय गणतन्त्रको भावना विपरीतका कदम चालेको, अभिव्यक्ति दिएको, पार्टीको वैधानिक बैठकका निर्णय नमानेको जस्ता दर्जनौं आरोप लगाएका थिए । आफ्नो टिमबाट प्रतिवाद प्रस्ताव तयार गरेपछि त्यसलाई आजको बैठकमा प्रस्तुत गर्ने तयारी ओली पक्षको छ । प्रचण्डले गुटको दबाबमा आएर आफूहरुमाथि अनर्गल प्रचार गरेको र त्यसलाई पुष्टि गर्न सक्ने कुनै तथ्य प्रस्तुत गर्न नसक्ने दाबी ओली पक्षको छ । प्रतिवाद प्रस्ताव पनि ओलीमाथि लगाइएका आरोपलाई पुष्टि गर्न चुनौती दिने गरी प्रस्तुत गर्ने तयारी छ । मुख्य गरी सरकारमा मन्त्री हेरफेर, कर्णालीका मुख्यमन्त्रीविरुद अविश्वासको प्रस्ताव, भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमणपछि प्रचण्ड पक्ष तीव्र असन्तुष्ट भएको छ । पार्टी बैठकका निर्णयलाई लत्याएको, बैठक डाक्न नखोजेको जस्ता आरोप उनीहरुका छन् । बालुवाटारमा १ बजेदेखि सुरु भएकाे बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहितका सचिवालयका ९ सदस्य उपस्थित छन् । सचिवालयमा यी प्रस्तावका विषयमा आपसी सहमति नभए दुवै अध्यक्षका प्रस्ताव स्थायी समिति र केन्द्रीय समितिसम्मै लाने तयारी छ ।