NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोरोनालाई जितेर ३६ दिनमा अस्पतालबाट डिस्चार्ज भए विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट गम्भीर विरामी परेका कांग्रेस केन्द्रीय सदस्य, सांसद एवं दलित संघका अध्यक्ष मीन विश्वकर्मा अस्पतालबाट डिस्चार्ज भएका छन् । विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी ८ दिनसम्म होम आइसोलेसनमा बसेका थिए । तर, कोरोनाले श्वासप्रश्वासमा समस्या भएपछि उनी ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भए । तीन दिन वीरमा उपचार गराएपछि विश्वकर्मालाई थप उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या र निमोनिया भएको थियो । १५ कात्तिकदेखि एक हप्तासम्म भेन्टिलेटरमा राखेर निकालेपछि विश्वकर्माको अवस्था सुधारोन्मुख हुँदै गएको थियो । स्वास्थ्यमा सुधार आएपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दलित संघका सचिव दिपक सोनीले दिए । डिस्चार्ज भए पनि विश्वकर्मालाई केही मात्रामा अक्सिजन दिइरहनुपर्ने उनले बताए । ‘उहाँको अवस्थामा राम्रो सुधार आएकोले अस्पतालबाट डिस्चार्ज गरिएको हो तर, थोरै मात्रामा अक्सिजन भने दिइरहनुपर्नेछ’ उनले भने, ‘उहाँले आफूलाई सहज नमानेसम्म अक्सिजन दिनुपर्ने हुन्छ । पूरै रिकभर हुन एक डेढ महिना लाग्न सक्छ । तर अवस्था राम्राे छ ।’