NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अष्ट्रेलियासँग भारतको शर्मनाक पराजय, सिरिज पनि गुमायो

काठमाडौं । लगातार दोस्रो खेलमा पनि फराकिलो पराजय बेहोरोसँगै भारतले अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज गुमाएको छ । पहिलो खेलमा ६६ रनले पराजित भएको भारत दोस्रो खेलमा पनि अष्ट्रेलियासँग ५१ रनले पराजित भएपछि सिरिज गुमाउन पुग्यो । तीन खेलको सिरिजमा लगातार दुई खेल जित्दै अष्ट्रेलिया २–० ले अघि रहेको छ । अबको एक खेल जिते पनि भारतका लागि यो सान्त्वना जित मात्रै हुनेछ । भारतलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा अष्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले ८३, आरोन फिन्चले ६० रन बनाए । पहिलो खेलमा पनि शतक हानेका स्टेभन स्मिथले दोस्रो खेलमा पनि शतकीय इनिङ खेले । उनले ६४ बलमा १०४ रन बनाए । मार्नस लाबुस्चगनेले ७७ रन बनाएपछि अष्ट्रेलियाले दोस्रो एक दिवसीयमा ३९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । भारतले ७ जना खेलाडीलाई बलिङ गराए पनि रविन्द्र जडेजाबाहेक सबै बलर महंगा सावित भए । भारतले सुरुवात राम्रो गरे पनि जितसम्म पुग्न सकेन । भारतका मयंक अग्रवालले २८, शिखर धवनले ३०, श्रेयस ऐयरले ३८ रन बनाए । कप्तान विराट कोहलीले ८९ रन बनाए । के एल राहुलले ७६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । अष्ट्रेलियाको लागि प्याट कुमिन्सले ३, अदाम जाम्पाले २ र जोस हेजेलउडले २ विकेट लिए । पहिलो खेलमा ३७४ रन बनाएर भारतलाई ३७५रनको लक्ष्य दिएको अष्ट्रेलियाले ६६ रनले खेल जितेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष