NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँग आइतबार छलफल गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताएका हुन् । उनले कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रर्वद्धन गर्दै नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म पृष्ठपोषण लिएर काम गर्ने बताए । उनले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्न निरन्तर दोहोरो संवादमा रहने बताए । अर्थमन्त्री पौडेलले स्रोतको सिमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोहीअनुसार काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने बताए । नेपाल उद्योग परिसंघका पदाधिकारीले कोभिड–१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।