NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दश लाखसम्मका योजना टोल विकास संस्थालाई

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले रु १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने निर्णय गरेको छ । स्थानीयवासीको अपनत्व सिर्जना गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७७८ को शुरुमा प्रत्येक वडामा संस्था गठन गरेको थियो । टोल क्षेत्रको विकास र समृद्धिका लागि गाउँपालिकाले अहिले सोही संस्थालाई उपभोक्ता समितिको मान्यता दिइ योजना कार्यान्वयन गर्दै आएको छ । विकास निर्माणका काम गर्नलाई गठन भएका उपभोक्ता समिति विनाअनुमतिपत्रका ठेकेदार बनेको तथा योजना सञ्चालनप्रति जवाफदेही र उत्तरदायी बन्न नसकेको आरोप लाग्न थालेपछि गाउँपालिकाले संस्था गठन गरेको गाउँपालिकाले जनाएको छ । टोल क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय समुदायकै अपनत्व सिर्जना गर्न टोल विकास संस्थालाई उक्त जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए । अधिकार र दायित्व दुवै जिम्मेवारी बोकेको टोल विकास संस्थामार्फत काम गर्दा उपभोक्ताको हितमा हुने निष्कर्षसहित संस्थालाई उपभोक्ता समितिको मान्यता दिएको उहाँले जानकारी दिए । गाउँपालिकाले संस्था गठन तथा परिचालनसम्बन्धी कार्यविधि नै बनाएर प्रत्येक वडामा संस्था गठन गरेको छ । सकेसम्म सर्वसहमति र सहमति नभए निर्वाचनको प्रक्रिया अपनाएर संस्था गठन गर्ने कार्यविधिमा रहेको छ । गठित समितिलाई उपभोक्ता समितिको हैसियत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । सिरिजङ्घाका आठ वडामा ७२ वटा टोल विकास संस्था निर्माण भएको छ । सोही संस्थामार्फत १० लाखसम्म बजेट भएका योजना धमाधम कार्यान्वयन भइरहेको उनले बताए । संस्था दलीय, जातीय, भाषिक, वर्गीय, क्षेत्रीय र लैङ्गीकताको प्रतिनिधित्व भएको संस्था भएकाले उपभोक्ता समितिको मान्यता दिन पनि सहज भएको गाउँपालिकाले जनाएको छ । संस्थाको खाता सञ्चालन पद्धतिदेखि लेखा व्यवस्थापनसम्मका काममा गाउँपालिका आफैँले नियमित नियमन र अनुगमन गर्नुपर्ने जनाइएको छ । संस्था मार्फत योजना कार्यान्वयन गर्दा वित्तीय तथा भौतिक सबै प्रगतिमा पारदर्शी हुने पनि गाउँपालिकाको विश्वास लिएको छ ।