NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ओली–प्रचण्डको आरोप प्रत्यारोपपछिको निर्णायक बैठकमा आज के होला ?

काठमाडौं । अध्यक्ष प्रचण्डको १९ पृष्ठको प्रस्ताव र त्यसको प्रतिवादमा अर्का अध्यक्ष केपी ओलीले ल्याएको ३८ पृष्ठ लामो प्रस्तावका विषयमा केन्द्रित रहेर छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दैछ । २८ कात्तिकमा प्रचण्डले ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रस्ताव ल्याएपछि ओलीले पनि १३ मंसिरको सचिवालय बैठकमा प्रतिवाद प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै प्रस्ताव सचिवालयका ९ सदस्यले अध्ययन गरेपछि छलफल गर्न पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा पुनः सचिवालय बैठक बस्न लागेको हो । एक अर्कोलाई आरोप र प्रत्यारोपले भरिएको प्रस्ताव अब कसरी अघि बढ्छ भन्ने विषयलाई निक्कै चासोपूर्वक हेरिएको छ । ओलीपक्ष दुवै प्रस्ताव खारेज गरी संयुक्त प्रतिवेदनका आधारमा अघि बढ्नुपर्ने मनस्थितिमा छ । तर, प्रचण्ड–नेपाल पक्ष भने आफूहरुले लगाइएको आरोप जायज भएको भन्दै ओलीको राजीनामा आउनुपर्ने पक्षमा रहेको छ । २८ कात्तिकको प्रचण्डको प्रस्तावमा ओलीले पद त्याग गर्नुपर्ने विषय उल्लेख थियो । अब आजबाट सुरु हुने बैठकमा पनि ओलीको प्रतिवादमाथि प्रचण्डले जवाफ दिने कार्यक्रम छ । प्रचण्ड–नेपाल पक्ष सचिवालय हुँदै आफूहरुको प्रस्ताव स्थायी समितिमा लानुपर्ने पक्षमा छ । तर, सचिवालयमा अल्पमतमा रहेको ओली पक्ष दुवै प्रस्ताव खारेज गरी नयाँ प्रतिवेदनबाट सहमति जुटाउनुपर्ने पक्षमा छ । तर, सचिवालयमा बहुमत भएपछि प्रचण्ड–नेपाल पक्ष स्थायी समिति हुँदै केन्द्रीय समितिसम्मै लगेर ओलीलाई थप गलाउने मनस्थितिमा छन् । दुवै पक्षको यस्तो अडानकाबीच आज बस्ने सचिवालय बैठकलाई निक्कै महत्वका साथ हेरिएको छ । १८ मंसिरमा स्थायी समिति र २५ मंसिरमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।