NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेकपाको समस्याबारे बालुवाटारमा ओली र प्रचण्डले के–के भने ?

काठमाडौं । नेकपामा दुई अध्यक्षले प्रस्तुत गरेको आरोप प्रत्यारोपको प्रस्तावबारे छलफल सुरु भएको छ । दुवैजना अध्यक्षबाट प्रस्ताव प्रस्तुत भएपछि यसबारेमा अध्यक्षद्वयले धारणा राख्ने क्रम सुरु भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । ‘सचिवालयको बैठकमा पार्टीको संकट समाधानमा प्रस्तुत अध्यक्ष ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ । सकिएको छैन । औपचारिक रुपमा अगाडि बढाउने साथै छलफल अगाडि बढाउने र नेताहरुकबीच अनौपचारिक छलफल र संवाद पनि अगाडि बढाउने भन्ने भएको छ’ श्रेष्ठले भने, ‘छलफल प्रारम्भ भएको छ । अब औपचारिक बैठक भोलि एक बजे पुनः बस्ने छ ।’ बैठकमा प्रस्तुत प्रस्तावका बारेमा दुई अध्यक्षले धारणा राखेको र अरु सदस्यहरुले पनि संक्षिप्त भनाई राखेको उनले जानकारी दिए । ‘छलफल प्रारम्भ भएको छ । दुवैले आफ्नो धारणा राख्नुभएको छ । अरु कमरेडले पनि सुझाव दिनुभयो’ श्रेष्ठले भने, ‘समाधान र निकासको बारेमा केन्द्रित भएर छलफल गर्न बाँकी नै छ । बैठकमा छलफल भइसकेपछि दुवै प्रस्ताव के हुने भन्ने टुंगो लाग्छ ।’ पार्टी एकताको रक्षा गर्दै, समस्याको कारणको पहिचान गर्ने दिशातिर छलफल अगाडि बढाउने सिलसिला सुरु भएको उनको भनाई छ । नेताहरुबाट पार्टी नफुट्ने प्रतिवद्धता आएको श्रेष्ठले जानकारी दिए । बैठकमा हुने छलफलले एउटा निष्कर्ष निकाल्ने उनले बताए । साथै, १८ मंसिरका लागि निर्धारित स्थायी समिति बैठक स्थगित नभएको पनि उनले बताए । २८ कात्तिकमा प्रचण्डले ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रस्ताव ल्याएपछि ओलीले पनि १३ मंसिरको सचिवालय बैठकमा प्रतिवाद प्रस्ताव प्रस्तुत गरेका थिए । राजावादीलाई चेतावनी प्रवक्ता श्रेष्ठले राजावादीलाई टाउको नउठाउन चेतावनी पनि दिए । ‘प्रतिगामी शक्तिले नेपालमा फेरि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्नेमा केही कमजोरी भएको छ भने समीक्षा गरेर हामी सोचेर अगाडि बढ्छौं’ श्रेष्ठले भने, ‘जनताद्धारा विस्थापित शक्तिहरुले फेरि पुनस्थापित हुने सोच नबनाए हुन्छ ।’