NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘महिनैपिच्छे भारतीय दूतावास धाउँछन् बाबुराम… ’ समाचारमा भट्टराई सचिवालयको सतही प्रतिक्रिया

काठमाडौँ । नेपालवाचमा प्रकाशित महिनैपिच्छे भारतीय दूतावास धाउँछन् बाबुराम भट्टराई, दिनको दुई पटकसम्म छिरेको ‘ट्रयाक रेकर्ड’ शीर्षक समाचारको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले खण्डन गरेको छ । नेपालवाचले मंसिर १५ गते सोमबार प्रकाशित गरेको समाचारमा भट्टराईको सचिवालयले ट्वीट गर्दै समाचारमा सत्यता नभएको दावी गरेको हो । सचिवालयको खण्डनमा भनिएको छ, ‘डा. बाबुराम भट्टराईको सम्बन्धमा मंसिर १५ मा प्रकाशित समाचारमा हाम्रो ध्यान आकृष्ट भएको छ । समाचारमा उल्लेख गरिएका तथ्यहरू कपोकल्पित हुन्, त्यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं … ’ सचिवालयले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको देहान्त हुँदा श्रद्धाञ्जली पुस्तिकामा हस्ताक्षर गर्नबाहेक अरु प्रयोजनका लागि दूतावास नगएको दाबी गरेको छ । तर समाचारले उठाएको मुख्य तथ्यमा भट्टराई सचिवालय प्रवेश गर्नै चाहेन । सचिवालयले एकोहोरो रूपमा समाचार गलत भएको मात्र दाबी गरेको छ । समाचारमा भट्टराई भारतीय दूतावास गएको मिति, समय र त्यतिबेला प्रयोग भएको गाडी नम्बर समेत उल्लेख छ । तर भट्टराईको सचिवालय मिति र समयबारे मौन छ । सामाजिक सञ्जालमार्फत समाचारमा सचिवालयको खण्डन आएपछि नेपालवाचले पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालय सदस्य रोशन पोखरेललाई सम्पर्क गरी समाचारमा उल्लेख भएको मिति र समयमा डा. भट्टराई कहाँ थिए भनेर प्रश्न गरेको थियो । तर उनले यसबारे केही पनि बताउन चाहेनन् । समाचार प्रकाशन पूर्व भट्टराईको प्रतिक्रिया लिन नेपालवाचले पटक–पटक फोन सम्पर्क प्रयास गरेको थियो । तर सम्पर्कमा नआएपछि नेपालवाचले उनको प्रतिक्रियाविनै समाचार प्रकाशित गरेको थियो । याे पनि पढ्नुस् महिनैपिच्छे भारतीय दुतावास धाउँछन् बाबुराम भट्टराई, दिनको दुई पटकसम्म छिरेको ‘ट्रयाक रेकर्ड’