NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चहलपहल बढ्यो तर छैनन् विदेशी पर्यटक, ठप्प ठमेलको अर्थतन्त्र

https://www.youtube.com/watch?v=A2_vwWY8dJI काठमाडौं । विगत १० वर्षदेखि बसन्तपुरको झाेंछेमा क्युरियो व्यवसाय गर्दै आएकी झापाकी कमला शिवाकोटीले गत फागुनमा ठमेलमा पसल सारिन् । ठमेलमा व्यापार सुरु गरेको महिना दिन नबित्दै गत चैतदेखि लकडाउन भयो । त्यसयता करिब साढे आठ महिना गुज्रिसकेको छ । यो अवधिमा उनको व्यापार शून्य छ । व्यापार नहुँदा उनले मासिक ५० हजार रुपैयाँ तिर्नेगरी लिएको घरभाडासमेत तिर्न सकेकी छैनन् । अहिले लकडाउन खुला भएर केही चहलपहल त देखिएको छ । तर, व्यापार हुन सकेको छैन । उनी भन्छिन्, ‘यसो हावा छिरोस् भनेर मात्रै पसल खोलिरहेकी छु ।’ उनका अनुसार ठमेलमा नेपालीहरूको केही चहलपहल देखिए पनि विदेशी पर्यटकको उपस्थिति शून्य छ । ‘क्युरियोमा नेपालीलाई खासै रुचि हुँदैन,’ उनी भन्छिन्, ‘विदेशी नआई त हाम्रो व्यापारले गति नै लिँदैन ।’ अर्का व्यवसायी डिल्लीराम नेपाल ठमेलमा चहलपहल सुरु भएपनि व्यापारीका लागि भने केही उपलब्धी नभएको गुनासो गर्छन् । नुवाकोटका नेपाल विगत १६ वर्षदेखि ठमेलमा पस्मिनाको व्यापार गर्दै आएका छन् । ‘यसअघि माओवादी जनयुद्ध र भूकम्पको विपत्ति पनि भोग्यौं,’ उनी भन्छन्, ‘तर, कोरोना महामारीले जति संकट यसअघि कहिल्यै भोगेनौं ।’ उनलाई अब कसरी व्यवसाय अघि बढाउने, भाडाको जोहो कसरी गर्ने जस्ता मामुली विषयमै चिन्ता छ । सिजनमा पर्यटक नआउँदा व्यापार हुन नसकेको उनी बताउँछन् । ठमेलमा मानिसहरूको चहलपहल केही बढे पनि विदेशी पर्यटक नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘विदेशी पर्यटक नआइ ठमेलको अर्थतन्त्र चलायमान नै हुन सक्दैन ।’ ठमेलमा विगत ३३ वर्षदेखि रिक्सा चलाउँदै आएका दुईजना मजदुर भेटिए । यतिबेला आफ्ना दुःख सुनाउँदा सुनाउँदा उनीहरू दिक्क छन् । लामो लकडाउन अवधिमा आम्दानी नभएर हातमुख जोर्न समस्या हुँदा पनि सरकारले नहेरेको उनीहरूको गुनासो छ । उनीहरू भन्छन्, ‘हाम्रो दुःख हामीसँगै छ ।’ विदेशी पर्यटक नआउँदा आफूहरूको रोजीरोटीको स्रोत सुकेको उनीहरू बताउँछन् । ठमेलको सुरक्षामा खटिएका एक प्रहरी ठमेलको अहिलेको चहलपहल बाटो परेर डुल्नेहरूको मात्रै भएको बताउँछन् । ठमेलका क्लब तथा रात्रीकालिन व्यवसायलाई बेलुकी १० बजेसम्म खोल्ने अनुमति दिएपनि चहलपहल बढ्न नसकेको उनी बताउँछन् । ‘रात्रीकालिन व्यवसायको क्षेत्र ठमेल अहिले ७ बजेपछि सुनसान नै हुन्छ ।’ उनले भने । ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल अहिलेको चहलपहलले ठमेलको व्यापार व्यवसायमा खासै फरक नपार्ने बताउँछन् । ‘नाइट लाइफ’ को पयार्य बोकेको ठमेल अझै पनि साविकको परिवेशमा फर्किन नसकेको उनी बताउँछन् । व्यवसाय चलाउन सहजीकरण गर्न सरकारसँग आग्रह गरे पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ । ‘रात्रीकालिन व्यवसाय बल्ल १० बजेबाट सुरु हुन्छ, तर सरकारको मापदण्ड अनुसार त्यतिबेला बन्द गर्नुपर्ने अवस्था आइसक्छ ।’ ठमेलको ठूलो व्यापार हिस्सा विदेशीले धान्दै आएको भएपनि विदेशी नआएको खण्डमा स्वदेशी आउने वातावरण बनाउनुपर्ने उनी बताउँछन् । ‘राजावादी आन्दोलन, असन इन्द्रचोक, मन्त्रीले गर्ने शिलान्यासका कार्यक्रममा कोभिड नलाग्ने ठमेलमा लाग्ने ?’ उनी प्रश्न गर्छन् । ठमेलले प्रत्यक्ष रुपमा ८५ हजारलाई रोजगारी दिएको अनुमानित तथ्यांक छ । उनका अनुसार अहिले ती सबै मारमा परेका छन् । व्यवसाय खोल्न जिल्ला प्रशासन कार्यालय धाउँदा पनि सरकारले नसुनेको उनी बताउँछन् । पर्यटन क्षेत्रमा लागेकाहरूको रोजगारी गुम्नबाट जोगाउन र पर्यटन क्षेत्रलाई चलायमान राख्न ठमेलको सबै व्यवसाय खोल्न पाउनुपर्ने उनको जिकिर छ । लकडाउनयता १८ हजारमात्र विदेशी पर्यटक अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२० को नोभेम्बरसम्म दुई लाख १८ हजार विदेशी पर्यटक नेपाल आएका छन् । विभागका सूचना अधिकारी रामचन्द्र तिवारीका अनुसार दुई लाख पर्यटक लकडाउन अघि नै आएका हुन् । गत १० मंसिरको मन्त्रीपरिषद्को बैठकले सोही मितिदेखि पर्यटक आगमन पूर्ण रुपमा खुल्ला गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार ७२ घण्टाको पिसिआर रिपोर्ट र १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा विदेशी पर्यटक नेपाल आउन पाउँछन् । यसअघि नेपाल आउनका लागि नेपाल पर्यटन बोर्ड र विभागको स्वीकृती लिनुपर्ने व्यवस्था थियो । ‘सरकारको पछिल्लो निर्णयले पर्यटक आगमनलाई केही सहज बनाएको छ,’ विभागका सूचना अधिकारी तिवारी भन्छन्, ‘तर, पर्र्यटक आगमनले लय समात्न अझै केही समय पर्खिनुपर्ने देखिन्छ ।’ यद्यपि, पर्यटकीय क्षेत्र खोल्दा मात्रै पनि नेपाल खुलेको सन्देश गएको उनको भनाइ छ । भिडियाे : अनिल लिम्बु