NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भारत उडानका लागि ‘आइस ब्रेक’ : एक हप्तामा दिल्ली उडान

काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको भारत उडानको लागि नेपालले कुटनीतिक पहल थालेको छ । मंसिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबलको स्वीकृतीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेका अनुसार भारत उडानका लागि नेपालले एयर बबलको सम्झौताबारे स्वीकृति जनाइसकेको छ । ‘भारत सरकारबाट त्यो अनुरोध अलि अघि नै आएको हो । हाम्रो क्याबिनेटबाट निर्णय हुनमात्रै ढिलो भयो’, उनले नेपालवाचसँग भने, ‘सुरुमा काठमाडौं दिल्ली दुई उडानमात्रै हुन्छ । हाम्रो तर्फबाट नेपाल एयरलाइन्स भइहाल्यो, उताबाट पनि एयरलाइन्स तोकेर तयारी गरेपछि उडान सुरु हुन्छ ।’ प्राधिकरणका उप महानिर्देशक राजकुमार क्षेत्रीले सबै प्रक्रिया पूरा भएर दिल्ल्ली उडान सुरु हुन एक हप्ताजति लाग्ने बताए । ‘भारतले पनि आफ्नो एयरलाइन्स तोक्नुप¥यो । त्यसपछि सेड्युलको लागि आव्हान गरेपछि उडान सुरु हुन्छ ।’ उनले भने । लामो समयको बन्दाबन्दीपछि गत असोज १५ बाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपनि भारतमा भने नियमित उडान भएको छैन । भारतमा उडान नहुँदा मात्रै नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले विगत आठ महिनामा २ अर्ब ४९ करोड ४० लाख बराबारको आम्दानी गुमाएको थियो । कोभिड–१९ को जोखिम अझै रहेकाले भारतले आफ्नो देशमा उडान गर्न चाहनेहरूलाई एयर बबलमार्फत जोडेको छ । जसमा हालसम्म २२ देशले दुईपक्षीय हवाइ सम्झौता गरेका छन् ।