NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेकपा गम्भीर र संवेदनशील मोडमा पुगेको ओली इतर पक्षको निष्कर्ष, २० गतेको बैठकमा उपस्थित हुन ओलीलाई निर्देश

काठमाडौं । नेकपा सचिवालयले प्रधानमन्त्री केपी ओलीलाई आगामी मंसिर २० गते बस्ने सचिवालयको बैठकमा अनिवार्य उपस्थित हुन निर्देश गरेको छ । प्रधानमन्त्री ओलीविनै बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले ओलीलाई आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देश गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्ष केपी ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षासहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक आगामी २० गते दिउँसो १ बजे बस्नेछ ।’ उनले नेकपा गम्भीर र सम्वेदनशील मोडमा रहेको पनि बताए । ‘यस्तो असामान्य परिस्थितिमा सम्वेदनशिलताका साथ नै प्रकृया अगाडि बढाउनु, छलफल गर्नु र निर्णय लिनु उचित हुन्छ,’ उनले भने,‘अध्यक्ष (ओली) बैठकमा आउनु भएन भने के हुन्छ ? भन्नेबारे हामी सोच्नै चाहँदैनौँ । हामी अपेक्षा मात्रै होइन विश्वस्त पनि छौँ । केपी ओली अर्को बैठकमा उपस्थित भएर पार्टीको अहिलेको संकटको निवारण गर्ने छलफललाई सार्थक निष्कर्षमा पु¥याउन योगदान गर्नुहुनेछ ।’ यस्तै, बिहीबारदेखि बस्ने नेकपाको स्थायी समितिको बैठक पनि २१ मंसिर दिउँसो १ बजेसम्मका लागि सारिएको छ । प्रचण्डको प्रस्तावमाथि आपत्ति जनाउँदै ओलीले मंगलबार प्रस्ताव खारेज भएमात्रै बैठकमा छलफल हुने बताएका थिए । प्रचण्डले अनावश्यक आरोप थोपरेको भन्दै ओलीले प्रस्ताव खारेज नहुँदासम्म बैठक बस्नुको औचित्य नहुने र आफू सहभागी नै नहुने चेतावनी दिएका थिए । चेतावनी अनुसार नै उनी बैठकमा सहभागी भएनन् । बुधबार एक बजेलाई बोलाइएको बैठक दुई बजेलाई सारिएको थियो । तर, ओली नआउने भएपछि सचिवालयका अन्य नेताहरु एक छिन छलफल गरी बाहिरिएका हुन् ।