NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पुलिसले पक्राउ गर्दा रामचन्द्र पौडेलको छातीमा चोट, बोल्नलाई समस्या

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्दा उनको छातीमा चोट लागेको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले प्रहरीले नियन्त्रणमा लिंदा पौडेलको छातीमा चोट लागेको जानकारी दिए । ‘छुटेलगत्तै दमौलीको रत्नहरि अस्पताल पुगेर छातीको एक्सरे गराउँदा हड्डी भाचिएको देखिएन । तर, प्रहरीले धरपकड गर्दा लठ्ठीले घोच्दा छातीको मासु थिलथिलिएर घाउ भएको रहेछ’ पाैडेलका स्वकीय सचिव अधिकारीले भने, ‘डाक्टरले दुखाई कम गर्ने औषधी पाँच दिनलाई खान भनेका छन् । तर उहाँ बाेल्न पनि नसक्ने हुनुभएकाे छ ।’ छातीमा बाहिरबाटै देखिने घाउ लागेकाे उनले जानकारी दिए । तनहुँको व्यास नगरपालिका १ मा पुल उद्घाटन गर्न जाँदा पौडेलललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद भएको थियो । दुई पक्षबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा नै जारी गर्नुपरेको थियो । तनाव भएपछि बुधबार मध्यान्ह् १२ बजेदेखि साँझ ६ बजेसम्मलाई कफ्र्य नै लगाएको थियो । निषेधाज्ञाबीच पौडेल उद्घाटन गर्न गएकोले उनलाई नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ । पक्राउपछि पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको थियो । आफूलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप पौडेलले लगाएका छन् । पौडेलले आफ्नो पहलमा भएको निर्माणको उद्घाटन गर्न जान नदिएर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप उनको छ । जनताको बीचमा दलहरुलाई जान नदिएर सरकारले लोकतन्त्रविरोधी कार्य गरेको भन्दै पौडेलले आफूलाई घटनाको निन्दा गरेका छन् । व्यास नगरपालिकामा कांग्रेसले जिते पनि प्रतिनिधिसभामा नेकपाका किसान श्रेष्ठले जितेका थिए । आफूहरुले जितेको ठाउँमा कांग्रेसले धावा बोलेको नेकपा समर्थित युवा संगठनको आरोप छ । पौडेललाई पक्राउ गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए । पौडेल पक्राउ परेको केहीबेरमै देउवाले प्रधानमन्त्री केपी ओलीलाई फोन गर्दै पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका थिए । नेविसंघले विभिन्न स्थानमा सडकमा प्रदर्शन नै गर्यो ।

ताजा अपडेट

नेपालवाच विशेष