NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रक्रिया पूरा भएका कोरोना बीमाको भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । प्रक्रिया पूरा भएका कोरोना बीमाको भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । बीमा गरेका कोरोना संक्रमितको भुक्तानी लामो समयसम्म पनि नभएको गुनासो बढेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा बसेको बैठकले कोरोनाको बिमा भुक्तानी चाँडो सक्न बीमा समितिलाई निर्देशन दिएको हो । यसअघि मन्त्रालयले सात दिनभित्र सबै दावी भुक्तानीको कार्यसम्पन्न गर्ने निर्देशन दिए पनि सोको पालना नभएको भन्दै मन्त्रालयले पुनः निर्देशन दिएको हो । हालसम्म न्यून संख्यामामात्र कोरोनाको बीमा भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा प्राप्त नभएको एवं बमिा समितिको हटलाइन सेवा संचालन भएको नपाइएको लगायतका सम्बन्धमा मन्त्रालयले समितिलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया पूरा भएका दावीहरूको भुक्तानी तीन दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ । त्यस्तै, भेरिफिकेसन गर्न बाँकी दावीको भेरिफिकेसन यथासिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । यसैगरी कोरोना बीमा दावी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीबाट दावी भुक्तानीमा देखिएका समस्या, बीमा कम्पनीमा थाती रहेका दावी र सोको विवरण तथा समस्या समाधानका लागि समितिबाट भएका प्रयासका सम्बन्धमा पनि मन्त्रालयले समितिलाई सोधेको छ । कोरोना बीमाको हालसम्मको दावी संख्या, कागजात पूरा भएका दावी संख्या, भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरिफिकेसन नभएका वा नक्कली दावीको विवरण, दावी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण सार्वजनिक गर्न पनि मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ ।