NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आजका ‘गुड न्युज’ भक्तपुर नगरकोट सडक निर्माण शुरु

काठमाडौँ । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू प्रवाह भए । त्यसमध्ये अधिकांश खबरहरू पाठकलाई निरास बनाउने खालका थिए । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । जसले पाठकहरूमा सकारात्मक उर्जा थप्ने काम गरे । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । प्रदेश १ मा निःशुल्क पाठेघर परीक्षण प्रदेश नं १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ । धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको उक्त सेवा शुरु भएकै दिन सात महिलाको नमूना संकलन गरिएको थियो । जसमा एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने बताइएको छ । भक्तपुर नगरकोट सडक निर्माण शुरु आर्थिक वर्ष २०७०/७१ मा ठेक्का सम्झौता भएको भक्तपुर—नगरकोट सडक निर्माणले बल्ल लय समातेको छ । लामो समयदेखि अवरुद्ध भएको उक्त सडक चालु आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । १५ किमी सडकमध्ये सात किमी सडकको निर्माण सम्पन्न भएको छ भने एक किमी सडक सम्पन्न हुने क्रममा छ । बाँकी सात किमी सडकको पनि कालोपत्र गर्ने तयारी भएको छ । बीमा रकम ३ दिन भित्र दिन अर्थ मन्त्रालयको पुनः निर्देशन बीमा कम्पनीहरूले कोरोनावापतको बीमा रकम दिन अटेर गरेपछि अर्थ मन्त्रालयले कम्पनीहरूलाई पुनः ताकेता गरेको छ । यसअघिको निर्देशन कार्यन्वयन नभएको भन्दै बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिलाई ३ दिनभित्रै रकम भुक्तानी गरी जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।