NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अर्थमन्त्री भन्छन्–रामचन्द्र पौडेलले पुल उद्घाटन गर्नु हास्यास्पद र लज्जास्पद

काठमाडौं । तनहुँमा पुल उद्घाटनको विषय राजनीतिक आरोप–प्रत्यारोपको तहमा ओर्लेको छ । व्यास नगरपालिकास्ति बुम्दीखोला मोटरेवल पुलको उद्घाटनका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले पक्राउ गरेपछि यो विषय सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसबीच प्रतिष्ठा जोगाउनेतिर केन्द्रित भएको छ । यसैबीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस नेता पौडेलले गरेको सुँडेस्थित सेती नदीको मोटरवेवल पुल र बुम्दीखोला मोटरेवल पुलको उद्घाटनलाई ‘कथित उद्घाटन’ भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सुँडेको पुल संघीय सरकारको बजेट र कार्यक्रम अन्तर्गत सडक डिभिजन कार्यालय तनहुँले र बुम्दीखोला पुल गण्डकी प्रदेश सरकारको बजेट र कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालय नवलपरासी बर्दघाट पूर्वले निर्माण गरेको गुरुङको विज्ञप्तीमा उल्लेख छ । संघीय सरकार र गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तर्गत निर्माण हुने विकास निर्माणका सबै कार्यक्रम र परियोजनाहरूको स्वामित्व सम्बन्धित सरकार र त्यसअन्तर्गका कार्यालय मातहत रहने बताए । मन्त्री गुरुङले त्यस्ता योजनाहरूको शिलान्यास र उद्घाटन पनि सम्बन्धित सरकारका निकायहरूको समन्वय र व्यवस्थापनमा हुने कानूनी प्रक्रिया, मान्यता र प्रचलन रहेको मन्त्री गुरुङले उल्लेख गरेका छन् ।‘सम्बन्धित सरकार र कार्यालयसँग समन्वय नै नगरी नेपाली कांग्रेस पार्टीको दलबलसहित कथित उपभोक्ता समितिको आयोजनामा अनधिकृत रुपमा यी दुईवटा पुल उद्घाटन गर्नु भनेको आफैंमा हास्यास्पद र लज्जास्पद कुरा हो,’ उनको विज्ञप्तीमा उल्लेख छ । अनधिकृत रुपमा गरिएको पुल उद्घाटनको विषयलाई राजनीतिक प्रतिष्ठा बनाउनु सिंगो नेपाली कांग्रेस र यसका नेता तथा कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपूर्ण क्रियाकलापबाहेक अरु केही नभएको उनको विज्ञप्तीमा उल्लेख छ । ‘सम्बन्धित कार्यालयसँग जानकारी र समन्वय नै नगरी अपारदर्शी ढंगले राजनीतिक बलमिच्याईंका आधारमा पुलको उद्घाटन गर्दै हिंड्नु भनेको गलत प्रक्रियामात्र होइन आफैंमा खेदजनक विषय हो ।’ मन्त्री गुरुङले भनेका छन् ।