NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पिसिआर परीक्षणमा कैफियत देखिएका अस्पताल र प्रयोगशालालाई उन्मुक्ति

काठमाडौं । पिसिआर परीक्षणमा कैफियत देखिएका अस्पताल र प्रयोगशालाहरूलाई सरकारले उन्मुक्ति दिएको छ । पिसिआर परीक्षणमा कैफियत देखिएका चार वटा अस्पताल तथा प्रयोगशालाहरू ह्याम्स अस्पताल, स्टार अस्पताल, सुरिया डायगोनोष्टिक सेन्टर र सेन्टर डायगोनोष्टिक सेन्टरलाई सरकारले उन्मुक्ति दिएको हो । पिसिआर परीक्षणमा लापरवाही गर्ने प्रयोगशालाहरूलाई कारवाही गर्नुको सट्टा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ‘अब आइन्दा त्यसो नगर्नू’ भन्ने व्यहोरा सहितको पत्र पठाएको छ । पिसिआर परीक्षणका क्रममा स्वाबको नमुना संकलन सुरक्षित नराखेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा ७ मंसिरमा यी अस्पतालहरूलाई जनस्वास्थ्य प्रयोगशालाले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टिकरणका क्रममा ती प्रयोगशालाले सरकारको पछिल्लो निर्देशनबारे आफूलाई जानकारी प्राप्त नभएको जवाफ फर्काएका थिए । ‘प्रयोगशालाहरूले स्टोरेजको समयावधि नेगेटिभको हकमा एक महिना तथा पोजेटिभको हकमा तीन महिना राख्नु पर्छ भन्ने थाहा पाएनौं, निर्देशिकामा भएको कुरालाई मात्र पालना गर्‍यौं भन्ने जवाफ दिएका छन्,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. मुकुन्दा गौतमले भनिन । जबकी ३१ भदौको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चारमाध्यममार्फत् सबै प्रयोगशालाहरूलाई नेगेटिभको हकमा एक महिना र पोजेटिभको हकमा तीन महिना नमुना संकलन सुरक्षित तरिकाले राख्न सुचना जारी गरेको गौतम बताउँछिन् । ‘तर त्यो निर्देशन लिखित नभई मौखिम भएपछि प्रयोगशालाहरूले त्यसैलाई आधार बनाएर जवाफ फर्काएका छन्,’ डा. गौतमले भनिन्, ‘ती प्रयोगशालाहरूलाई ‘अब आइन्दा स्वाबको नमुना परीक्षण सुरक्षित राख्नु’ भनेर निर्देशन दिएका छौं ।’ मन्त्रालयको कोभिड–१९ सम्बन्धी अन्तरिक निर्देशिका अनुसार पिसिआर परीक्षणको क्रममा लिइएको स्वाबको नमुना नेगेटिभको हकमा एक हप्ता र पोजेटिभको हकमा एक महिना सुरक्षित राख्नुपर्छ । तर, त्यसलाई परिमार्जन गर्दै मन्त्रालयले नेगेटिभको हकमा एक महिना र पोजेटिभको हकमा तीन महिना नमुना संकलन सुरक्षित गर्न भनेको थियो । तर, मन्त्रालयको यो निर्देशनलाई अस्पताल र प्रयोगशालाले बेवास्ता गरेका थिए । नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत हङकङ, दुबई र जापान पुगेका यात्रुको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि संस्कृति, पर्यटन तथा उड्यान मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पिसिआर परीक्षणबारे छानबिनका लागि अनुरोध गरेको थियो । मन्त्रालयको अनुरोधको आधारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. मुकुन्दा शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती अस्पतालहरूको छानबिन गर्न निर्देशन दिएको थियो । ती अस्पतालको नमूना क्रसचेकिङका लागि केन्द्रिय प्रयोगशाला पठाइएको थियो । प्रयोगशाला छानबिनबाट स्टार अस्पतालको तीन वटा तथा ह्याम्स अस्पताल, सुरिया डायग्नोष्टिक सेन्टर तथा सेन्ट्रल डायगोनोष्टिक सेन्टरको एक–एक वटा रिर्पोटमा त्रुटि देखिएको थियो । ‘प्रयोगशाला र अस्पतालले कोरोना परीक्षणका लागि संकलित नमुना पनि संरक्षण गरेको देखिएन,’ छानबिन समितिमा संलग्न एक अधिकारीले भने । केही प्रयोगशालाहरूले संकलित नमुना दुईदिनमात्र राखेर फालेको पनि भेटिएको ती अधिकारीले बताए ।