NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डेढ महिनादेखि जारी वीर अस्पतालका डाक्टरको आन्दोलन स्थगित

काठमाडौं । वीर अस्पतालका आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधीकारी बीच सहमति भएको छ । यससँगै ४६ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । शुक्रबार डाक्टर–कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएसँगै तत्कालका लागि आन्दोलन स्थगित भएको हो । कोभिड भत्ता वितरणका सम्बन्धमा निम्तिएको समस्या समाधानका लागि अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधि सम्मिलित समिति बनाउने र त्यसैका आधारमा भत्ताको समानुपातिक वितरण गर्ने सहमति दुवै पक्षबीच जुटेको छ । कोभिड बीमाको क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने, कर्मचारीले पाउने आर्थिक वर्ष ०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी आगामी सात दिनभित्र उपलब्ध गराउने, अस्पतालको पूर्ववत् सेवासहित थप सेवाहरू प्रभावकारी रुपले सञ्चालन गर्ने सहमति दुवै पक्षबीच भएको छ । सेवा भत्ता विस्तारका सम्बन्धमा आउँदो छ सातासम्म दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै लैजाने सहमति समेत भएको छ । त्यस्तै, प्रतिष्ठान सेवातर्फ कार्यरत कर्मचारीको तलव भत्ता र अवकाश पछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने निर्णय भएको पनि सहमतिमा उल्लेख छ । सर्वोच्च अदालतको फैसला बमोजिम चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टरलाई प्रतिष्ठान अन्तर्गत रहने गरी भएको निर्णय कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष अनुरोध गर्ने, प्रतिष्ठानमा कार्यरत कर्मचारीको वृत्ति विकास प्रतिष्ठानको नियमावली बमोजिम गर्ने सहमति पनि भएको छ । सहमति कार्यान्वयनका लागि आन्दोलनरत पक्षले प्रशासनलाई ६ साताको अल्टिमेटम दिएको नेपाल स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । ‘प्रतिष्ठानका पदाधिकारी र संघबीच आजै सहमति भएको छ,’ उनले भने, ‘यो सँगै हामीले छ हप्ताका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छौं ।’