NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कोही किन भ्रष्ट हुन्छ ?

‘ट्रान्स्परेन्सी इन्टरनेसनल’ले सन् २०१९ मा प्रकाशन गरेको सूचीअनुसार संसारका सबभन्दा भ्रष्ट मुलुकमा सोमालिया, सुडान, भेनेज्वेला, सिरियालगायत देशहरू छन् । यसको ठिक सुल्टोमा जाँदा, संसरमा एकदम कम भ्रष्ट अथवा भ्रष्टाचार नै नभएका देशमा फिनल्यान्ड, डेनमार्क, न्यूजिल्यान्डलगायत यूरोपियन मुलुक छन् । संसारका १८० देशमध्ये कम भ्रष्ट मुलुकको सूचीमा नेपाल ११३ औँ स्थानमा छ । नेपालसँगै जोडिएको चीन कम भ्रष्ट मुलुकको सूचीमा ८७ औं स्थानमा छ भने भारत ७९ औं स्थानमा छ । सबैभन्दा अद्भूत कुरा के भने भुटान कम भ्रष्टाचार भएका मुलुकमध्ये २५ औं स्थानमा छ । यसको मतलब संसारको सबभन्दा कम भ्रष्ट मुलुकमा भुटान पनि पर्छ । बहिरबाट हेर्दा मुलुक भ्रष्ट हुनुका पछाडि मुख्य तीन कारण देखिन्छ । विकास, गरिबी र तानाशाह । धेरै विकसित मुलुकमा कम भ्रष्टाचार देखिएको छ । तर विकसित हुँदैमा भ्रष्ट नहुने भन्ने होइन । जस्तै स्पेन भ्रष्ट मुलुकमध्ये ४१ औं स्थानमा छ । जुन युरोपको विकसित देशमध्येमै पर्छ । देश जति विकास हुँदै जान्छ, त्यत्ति नै भ्रष्टाचार कम हुँदै जाने सम्भावना पनि बढ्दै जान्छ । यसको ठिक उल्टो, गरिब मुलुक जस्तै सोमालिया, सुडानको सूची हेर्दा गरिबी पनि भ्रष्टाचारको मुल कारण देखिन्छ । अर्को कुरा, जुन देशमा ठूला राजनीतिक उथलपुथल र द्वन्द्व मच्चिरहेको हुन्छ, त्यहाँ भएको राजनीतिक अस्थिरताका कारण पनि भ्रष्टाचार हुन्छ । धनी भएर पनि सिरिया र भेनेज्वेलाजस्ता देश राजनीतिक उथलपुथलकै कारण भ्रष्टाचारउन्मुख भएका छन् । त्यसैगरी उत्तर कोरियाजस्तो देश भ्रष्ट हुनुले तानाशाही पनि भ्रष्टाचारको अर्को कारण हो भन्ने बुझाउँछ । त्यसकारण देश भ्रष्ट हुनुको पछाडि गरिबी, राजनीतिक अस्थिरता र तानाशाह प्रष्ट रुपमा भेटियो । अब यसमा नेपालको भ्रष्टाचारलाई जोडेर हेरौं । हामी भ्रष्ट हुनुको पछाडि हाम्रो गरिबी एउटा मूल कारण हो । नेपालमा यो भन्दा अघि पञ्चालयतकालको तानाशाह थियो । त्यसको केही समयपछि माओवादीको द्वन्द्व पनि चर्कियो । अहिले त हामी लोकतन्त्रमा छौं । तानाशाह र द्वन्द्व दुवै समस्या देखा परेको छैन । भनेपछि नेपाल भ्रष्ट हुनुको मुख्य कारण नै गरिबी देखियो । भुटानसँग जोडेर नेपालको व्याख्या गर्दा तुलनात्मक रूपमा भुटान पनि नेपालजस्तै देश हो । यसले नेपाल र भुटानको राजनीतिक स्थिति लगभग उस्ताउस्तै देखाउँछ । यतिहुँदा पनि नेपाल सबभन्दा भ्रष्ट मुलुकमा र भुटान त्यो स्थानमा किन परेन त ? यसको पछाडि एउटा दार्शनीक कारण पनि छ । भुटानका राजा जिग्मे वाङचुकले सन् १९७७ मा के भनेका थिए भने, देशको लागि सबभन्दा महत्वपूर्ण जिडिपी (कुल गार्हस्थ्य उत्पादन) होइन, ‘ह्युमन ह्यापिनेस इन्डेक्स’ (मानव खुसी सूचकांक) हो । किनभने देशको ‘जिडिपी’ बढ्नु भनेको विकास हुनु हो । विकास पनि जनता खुसी पार्न नै हुने हो । दुनियाँभरका मान्छेले विकास खोजिरहेका हुन्छन् । तर, विकास भन्दापनि महत्वपूर्ण व्यक्तिको खुसी हुन्छ । किनभने विकासको उद्देश्य पनि मान्छेलाई खुसी बनाउनु हो र मान्छे खुसी भएनन् भने पनि त्यो विकासले भ्रष्टाचार निम्त्याउँछ । विकासको कुरा गर्दा अमेरिका अग्रपंक्तिमा आउँछ । तर, भ्रष्टाचारको सूचीमा अमेरिका पनि अघि नै छ । त्यति धेरै विकसित देश संसारको कम भ्रष्ट मुलुकको सूचीमा २३ औं स्थानमा छ । यो भनेको भुटान सँगसँगैको स्थान हो । वाङचुकको दर्शनबाट प्रेरित भएर भुटानले धनी हुनुमाभन्दा पनि बढी महत्व जनतालाई खुसी बनाउनमा दिन थाल्यो । किनभने जबसम्म जनता खुसी बनाउन योजना बन्दैन, भ्रष्टाचार नियन्त्रण हुन सक्दैन भन्ने भुटानले बुझिसकेको थियो । जनता खुसी बनाउनका लागि पनि त्यसका आफ्नै मापदण्ड छन् । न्यूनतम रूपमा गास, बास, कपासको व्यवस्था राज्यले गर्न सक्नुपर्छ । त्यत्ति भएन भने मान्छे खुसी हुन सक्दैन । पारिवारिक सम्बन्धमा कटुता र एउटा समुदायले अर्को समुदायलाई घृणा गर्न थाल्यो भने पनि मान्छे खुसी हुँदैन । नेपालमा पहिचानको मुद्दा उठिसकेपछि जनजाति र बाहुन क्षेत्रीबीचको खाडलले एक अर्कालाई गाली गर्न थालियो । यसले मानिसलाई कम खुसी बनाउनुका साथै असुरक्षित महसुस गराउँछ । जहाँ मान्छे खुसी छैनन्, भुटानले त्यहाँ स्थिति सुधार्ने प्रयास थाल्यो । अहिले नेपालको प्रतिव्यक्ति आय तीन हजार एक सय १० अमिरिकी डलर छ भने भुटानको प्रति व्यक्ति आय नौ हजार सात सय डलर छ । जबकि, भुटान पनि हाम्रोजस्तै कृषिप्रधान देश हो र उसले पनि बिजुली बेचेर आम्दानी गर्छ । भुटानले विस्तारै विकास बढाउँदै लैजानुको कारण के देखियो भने उसले खुसी खोज्यो । देश त छिटो विकास गर्न सकिदैन तर मान्छेलाई खुशी त बनाउन सकिन्छ नि ! भ्रष्टाचार निर्मुल गर्नका लागि विकास चाहिन्छ भन्ने प्रष्ट रुपमा देखियो । नेपाल जस्तो देशले फटाफट विकास गर्ने कुनै पनि आधार छैन । त्यो हिसाबले हेर्ने हो भने त हाम्रो देश भ्रष्टाचारबाटै कहिल्यै मुक्त नहुने भयो । तर, अर्को बाटो त भुटानले देखाइसक्यो । भुटानले गरेको मोडललाई नेपालमा प्रयोग गर्ने हो भने हाम्रो ‘ह्यापिनेस’को स्तर पनि बढ्दै जान्छ र सोही तुलनामा देशको विकास पनि हुँदै जान्छ । अब भ्रष्टाचारलाई दार्शनिक कोणबाट चर्चा गरौं । महान् वैज्ञानिक अल्बर्ट आइनस्टाइनलाई सन् १९५० मा इजरायलको राष्ट्रपति हुनको लागि प्रस्ताव आयो । त्यो पनि सित्तैमा । आइनस्टाइनले सहजै  अस्वीकार गरे र भने, ‘म जे गरिरहेको छु खुसी छु ।’ वास्तविक खुसी यही हो । जब मान्छे भित्रैबाट आफूले गरिरहेको काममा सन्तुष्ट हुन्छ, उसले शक्ति खोज्दैन । शक्ति र पैसा उसैले खोज्छ जो सन्तुष्ट छैन । मान्छे जति असुरक्षित महसुस गर्छ त्यस्ता मान्छेमा त्यो मनोविज्ञानले भ्रष्टाचार बढाउदै लैजान्छ । सन् १९१७ मा रसियामा एजेक्स्जेन्डर केरेन्स्कीको अध्यक्षतामा सरकार गठन भयो र त्यसपछि एउटा मन्त्रीमण्डल गठन भयो । मन्त्रीमण्डलमा सर्वदलीय व्यक्तिलाई राख्न खोजियो । त्यतिबेला देशमा अराजकतावाद आउनुपर्छ भनेर बहस गर्दै आएका व्यक्ति थिए रसियाका अराजकतावाद सिद्धान्तकार प्रिन्स क्रोपोटकिन । त्यो पदको अवसर दिँदा क्रोपोटकिनले भने, ‘म जिन्दगीभर  राजनीतिक व्यवस्थाको विरोध गर्ने मान्छे । राजनीतिक व्यवस्था रहेसम्म संसारमा भ्रष्टाचार र मान्छेको शोषण कहिल्यै समाप्त हुँदैन भन्ने दर्शनको पक्षधर हुँ म । बरू जुत्ता सिएर बसौंला, राजनीतिमा आउँदिन ।’ यी उदाहरणबाट के बुझ्न सकिन्छ भने, मान्छे भित्रबाट सन्तुष्ट भयो भने उसले पद प्रतिष्ठा खोज्दैन । आजभन्दा २५ सय वर्षअघि दार्शनिक लाओजी चीनमा त्यतिबेलाका सबैभन्दा बुद्धिमानी मानिस भनेर हल्ला फैलिएपछि राजाले पनि उनलाई प्रधानमन्त्री बन्ने प्रस्ताव राखे । राजाले उनलाई बोलाउन मान्छे पठाउँदा उनी माछा मारिरहेका थिए । राजाको मान्छेले गएर उनीसँगै हिँड्न भने र राजाको प्रस्तावबारे बेलिविस्तार लगाए । उनले पानीमा भएको कछुवालाई देखाउँदै भने, ‘त्यो हिलोमा बसेको कछुवालाई सुनको पिंजडा दिँदा खुसी हुन्छ ? पक्कै हुँदैन । त्यसको स्थान नै हिलो हो । म पनि जे छु त्यसमै स्वतन्त्र र खुसी छु त्यसकारण मलाई प्रधानमन्त्री हुनु छैन ।’ यी तिनै उदाहरहण भित्रको मनोविज्ञान हेर्दा, मान्छे जति दुःखी हुन्छ त्यत्ति नै भ्रष्ट हुन्छ । भ्रष्टाचारबाट मान्छेलाई बाहिर ल्याउनका लागि एकदमै ठूलो राजनीतिक परिवर्तन र ठूलो सजाय भनेको अर्कै पाटो भयो । तर मुख्य कुरा, सजाय जति ठूलो भए पनि उ भित्र यदि असन्तुष्टि छ भने उसले लुकिछुपी जुनसुकै मुल्यमा पनि भ्रष्टाचार गरिरहेको हुन्छ । त्यसकारण मान्छेलाई भ्रष्टाचारबाट बाहिर ल्याउनका लागि मान्छेलाई खुशी कसरी बनाउने त्यो सोच्नुपर्छ । नेपालको परिवेशमा हेर्दा कांग्रेसमा विद्धत भनेर चिनिने नेता प्रदीप गिरी यो देशमा सबैभन्दा बढी अध्ययन गर्ने र सबभन्दा बढी साधु स्वभावका मान्छे हुन् । उनी राजनीतिमा सुरुदेखि नै थिए । त्यत्ति हुँदाहुँदै उनी कहिल्यै मन्त्री भएनन् । तर, उनी चुनावमा सधैं जान्छन् । चाहेको भए मन्त्री हुन पनि सक्थे । उनी किन मन्त्री भएनन् भन्ने कारण खोज्दा, उनी अध्ययनशील छन्, आफैंमा सन्तुष्ट छन् र उनी आफैं साधक पनि हुन् । त्यो स्थानमा पुगिसकेपछि मान्छेले पद नै खोज्दैन भने भ्रष्ट हुने त कुरै भएन । नेतामध्ये सबभन्दा खरो बोल्न सक्ने पनि उनी नै छन् । त्यसकारण उनलाई एउटा ‘सिम्बोल’का रुपमा लिनुपर्छ । साधक भइसकेपछि व्यक्ति मनोवैज्ञानिक रुपमा खुसी हुन्छ । म्याथिउ रिकार्ड संसारकै खुशी व्यक्ति भनेर चिनिन्छन् । तर उनी भिक्षु हुन् । भिक्षुसँग त केही पनि हुँदैन । न धन, न पद, न प्रतिष्ठा । जोसँग केही पनि छैन उनी सबभन्दा बढी खुसी ! उनी संसारकै खुसी व्यक्ति हुनुको कारण प्रष्ट छ, उनी साधक हुन्् । उनी नियमित ध्यान गर्छन् । हाम्रा राजनेताले अनिवार्य रूपमा दिनको एक घण्टा ध्यान र अध्ययनमा जोड दिने हो भने पनि भ्रष्टाचार निर्मुल पार्न सकिन्छ । प्रदीप गिरी यसको नमुना हुन् र खुसीले देश विकास गर्ने उदाहरण खोज्ने होे भने भुटानलाई हेरे हुन्छ । भुटानले नेपाललाई जिडिपीमा पनि उछिनिसक्यो र विकासमा पनि र दक्षिण एसियाकै कम भ्रष्ट मुलुकमा पर्न सफल भएको छ । व्यक्तिलाई आन्तरिक रुपमा खुसी बनाउने माध्यम योग र साधना नै हो । पछिल्लो समय भएको एक अनुसन्धानमा दिनको २० मिनेटदेखि एक घण्टा अनिवार्य साधना गर्नेहरू व्यापार व्यवसायको क्षेत्रमा राम्रो सफलता पाएको देखियो । प्रगतिको मुख्य दुश्मन तनाव हो र तनाव व्यवस्थापनको शुत्र ध्यान र साधना । यो रिपोर्ट पढेपछि बिल गेट्सले पनि पोहोर सालदेखि ध्यान गर्न थालेका छन् । ध्यान गर्ने भनेर सारा चिज छोडेर तपस्वी हुने भनेको होइन । आफूलाई अनुशासनमा बाध्नका लागि ध्यान गर्ने हो । योग र साधनाले भ्रष्टाचार निर्मुल पार्न सक्ने कुरा मल्लकालीन राजा महाराजालाई हेरेर पनि थाहा हुन्छ । मल्लकालमा त नेपालको विकास उच्च स्तरमा भएको थियो । त्यो बेलादेखिको विकास शाह कालपछि किन पतन हुँदै गयो ? किनभने मल्लकालका अधिकांश राजा साधु थिए । पाटनको संग्रहालयमा सिद्धिनरसिंह मल्ल सुत्ने गरेको ढुंगाको खाट अहिले पनि देख्न सकिन्छ । उनी कठोर साधना गर्थे । प्रताप मल्ल आफ्नोे दरवारमा तान्त्रिकहरू राख्थे र उनीहरूसँग आफैं साधना गर्थे । त्यसपछि विस्तारै आध्यात्मिक चिन्तन र साधना अन्त्य हुँदै गयो किनभने पृथ्वीनारायणको एकीकरण हिंसाबाटै सुरु भयो । देश ठूलो हुँदै गएपछि सबै थोक हुन्छ भन्ने महत्वकांक्षा भयो । यसरी हिंसाको माध्यमबाट देश विस्तार विकास गर्ने मानसिकता पछिसम्म पनि देखियो । विद्यमान अवस्था हेर्दा भौतिकवादको सिद्धान्त आफैंमा गलत सिद्ध भएको छ । भौतिक सम्पति हडपेर मान्छे कहिल्यै खुसी हुँदैन । यसले त झन् धेरै कमाउनेतिर ध्यान जान्छ । जिन्दगीको सुख भनेकै मोजमस्ती र विलासिता हो भन्ने धारणा राणाहरूको थियो । यही मानसिकता अहिलेसम्म पनि व्याप्त छ । दिवंगत नेता गोरेबहादुर खापांगीले एक पटक भनेका थिए, ‘कम्युनिज्ममा सबै कुरा भौतिक हुन् र संसारमा भौतिकवाद बाहेक केही छैन भनेर हामीले पढ्यौं । आज त्यही नेता सत्तामा पुगेपछि आफ्ना लागि भौतिक सम्पत्ति जोड्नतिर लाग्नेबाहेक केही गर्दैनन् । किनभने त्यसलाई उनीहरू अन्तिम खुसी मान्छन् ।’ यहाँ दर्शनले नै मात खाएको छ । नेपालमा भौतिकवादको सिद्धान्त अन्त्य नभएसम्म भ्रष्टाचार नियन्त्रणमा आउँदैन । –नेपालवाचका संवाददाता कञ्चन न्यौपानेसँग कुराकानीमा आधारित