NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कोरोना खोप भण्डारण गर्न माइनस २० डिग्री तापक्रम क्षमताको ‘कोल्ड स्टोर’ बनाइँदै

काठमाडौं । कोरोना विरूद्धको खोप भण्डारणका लागि सरकारले चिस्यान क्षमता (कोल्ड चेन) क्षमता विस्तार गर्ने भएको छ । माइनस २० डिग्री सेल्सियससम्म चिस्यान क्षमताको कोल्ड चेन विस्तार गरिने भएको हो । चिस्यान क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । खोप भण्डारणका लागि आवश्यक उपकरण खरिद तथा चिस्यान क्षमता विस्तारका लागि करिब चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा. खेमराज कार्कीले बताए । नेपालमा कुन र कस्तो प्रकृतिको खोप आउने भन्ने यकिन नभइसकेको अवस्थामा २० डिग्री सेल्सियससम्म तापक्रम कायम राख्ने खोप भण्डारणका लागि शीतभण्डार बनाउन लागिएको हो । संसारका विभिन्न मुलुकहरूले कोरोना विरूद्धको खोप विकास गर्दै आएका छन् । त्यसमध्ये अमेरिकाको फाइजर कम्पनी, मोर्डना कम्पनी, रसियाको स्पुतनिक–भी, चीनको सिनोभ्याक खोप अग्रपंक्तिमा छन् । यी कम्पनीहरूले उत्पादन गरेका खोप भण्डारणका लागि आठ देखि माइनस ७० डिग्री सेल्सियससम्मको चिस्यान राख्न सक्ने पूर्वाधारको आवश्यक पर्छ । नेपालमा आठदेखि माइनस २० डिग्री सेल्सियस तापक्रम कायम राख्नसक्ने चिस्यान क्षमता छ ।त्यसमध्ये दुई देखि आठ डिग्री सेल्सियस तापक्रम कायम राख्नसक्ने चिस्यान क्षमता एक लाख ९५ हजार लिटर छ । तर, यो क्षमता नियमित खोपका लागिमात्र पर्याप्त रहेको मन्त्रालयका जनस्वास्थ्य विज्ञ कार्की बताउँछन् । माइनस २० डिग्री सेल्सियसको चिस्यान क्षमताका हकमा भने पर्याप्त पूर्वाधार छैन । मन्त्रालयका अनुसार नेपालमा २० डिग्री सेल्सियसको चिस्यान क्षमता १५ हजार लिटर छ । माइनस ७० डिग्री सेल्सियसको चिस्यान क्षमताको लागि त नेपालमा कुनै पनि किसिमको पूर्वाधार छैन । विश्वमा विकास भएका कतिपय खोपलाई माइनस २० देखि ७० डिग्री चिस्यान क्षमता आवश्यक पर्छ । माइनस ७० डिग्री सेल्सियस चिस्यान क्षमतामा राख्नुपर्ने अमेरिको फाइजर कम्पनीको खोपले यसै साता बेलायतमा प्रयोगका लागि स्वीकृति पाइसकेको छ भने मोर्डनाको खोप पनि यसै साता स्वीकृति पाउने तयारीमा छ ।