NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेकपा विवाद : ओली समूह स्थायी समितिमा जाने, अब के गर्लान ओली ?

नेकपा स्थायी समितिको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहका नेताहरु पनि उपस्थित हुने भएका छन् । नेकपाभित्रको आन्तरिक किचलोले उग्ररुप लिइरहेका बेला ओली समूह बैठक छल्ने तयारीमा थियो । तर ओली समूहका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने बैठकमा जाने बताए । उनले भने,‘बैठकमा आउनका लागि पत्र आएको छ । पत्र आएपछि बैठकमा नजाने भन्ने हुँदैन । बैठकमा जान्छौं ।’ शनिबार बालुवाटारमा बसेको सचिवालयको बैठकले ठोस निर्णय गर्न नसकेपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार नै स्थायी समितिको बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अपरान्ह १ बजे बस्नेगरी समयतालिका तय भइसकेको छ । यता, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने तोकिएकै समय र स्थानमा बैठक बस्ने बताए । स्थायी समितिको बैठकमा भने दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको छुट्टाछुट्टै सचिवालयमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । ओलीले आफूमाथि लाञ्छना लगाइएको भन्दै सचिवालय, स्थायी समिति, केन्द्रीय समिति कुनै पनि फोरमबाट समस्या समाधान नहुने जिकिर गर्दै आएका छन् । यस्ता बैठकको औचित्य नभएको भन्दै उनले प्रधानमन्त्रीबाट पनि राजीनामा पनि नदिने र अध्यक्ष पद पनि नछोड्ने चेतावनी दिएका छन् । तर, पहिलेदेखि नै डाकिएको स्थायी समिति बैठकमा ओली सहभागी हुन्छन् वा हुँदैनन् । उपस्थित भएर कसरी प्रस्तुत हुन्छन् भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ । ओलीले पार्टीका फाेरमले समाधान नदिने भन्दै अनाैपचारिक स‌ंवादबाट समाधान खाेज्नुपर्ने अडान लिंदै अाएका छन् । तर, प्रचण्ड र नेपाल पक्ष पार्टीका फाेरमले लिने निर्णय ओलीसहितका सबै नेताले मान्नुपर्ने बताएका छन् ।