NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दुर्घटनामा आमा, श्रीमती र छोरा गुमाएपछि उजाडियो घर ….

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटालीमा सन्नाटा छाएको छ। एकैघरका तीनजनाको जिप दुर्घटनामा परी ज्यान गएपछि गाउँमा सन्नाटा छाएको हो। आइतबार राति डोटीमा भएको जिप दुर्घटनामा परी बैतडीका एकै घरका तीन जनाको ज्यान गएपछि गाउँ नै शोकाकुल भएको स्थानीय अम्बादत्त अवस्थीले बताए। उनले भने, ‘एकै घरका तीन जनाको ज्यान गयो। पापी दैवले घर नै रित्तो बनायो। गाउँ नै शोकाकुल बनेको छ।’ सुर्नया ६ मूलखटालीका २८ वर्षीय मञ्जु अवस्थी त्रिपाठी बोगटान फुड्सील गाउँपालिकामा कार्यरत थिइन्। कार्यालय जानका लागि उनी शनिबार मात्रै ३ वर्षीय छोरा र सासुआमासहित डोटीका लागि हिँडेकी थिइन्। बैतडी नै काज सरुवा गर्ने योजनामा रहेकी उनी कहिले नफर्कने भएकी छिन्। ‘मेरो त घरबार नै उजाडियो। श्रीमति, आमा र छोराको एकै चिहान भयो। यो दुःख कसरी सहौं। पापी दैवले रित्तो बनायो’, मृतक मञ्जुका श्रीमान मदनराज अवस्थीले भने, ‘घरको दैलो उघार्ने मान्छेसम्म नराखी दैवले लग्यो।’ ‘हाम्रो गाउँमा महिला सरकारी कर्मचारी कोही पनि छैन्न। निकै मिहनेत गरेर उहाँले गत बर्ष मात्रै आयोग उत्तीर्ण गर्नुभएको थियो। घरपरिवार राम्रोसँग चलिरहेको थियो’, स्थानीय अम्बादत्त अवस्थीले भने, ‘यस्तो ब्रजपातले सिंगो गाउँ स्तब्ध छ।’ दुर्घटनासँगै मञ्जुको शाखा अधिकृत बन्ने सपना पनि अधुरै रहेको छ। मदनका बुवा पहिला नै बितेका थिए। अब घरमा मदन र मदनका भाइ शंकर मात्रै छन्। एक महिना नपुग्दै ९ परिवारले आफन्त गुमाए बैतडीमा सडक दुर्घटनाका कारण एक महिनाको बीचमै ९ परिवारले आफन्त गुमाएका छन्। गत कार्तिक २८ गते तिहारकै बीचमा बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा एकै वडाका तीनजनाको ज्यान गएको थियो। यस्तै मंसिर ९ गते बैतडीको दशरथचन्द नगरपालिका १० बुडडमा भएको जिप दुर्घटनामा ५ जनाको ज्यान गएको थियो। आइतबार राति डोटीमा भएको जिप दुर्घटनाले एकैपरिवारका ३ जनाको ज्यान गयो। अन्नपूर्ण पोष्टमा खबर छ ।