NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

काठमाडौं महानगरको कोरोना राेकथाम खर्च १० करोड : स्यानिटाइजर छर्केको ३७ लाख, विज्ञापनकाे २८ लाख

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा काठमाडौं महानगरपालिकाले झण्डै १० करोड खर्चेको छ । गत चैतदेखि कात्तिकसम्मको अवधिमा कोरोना रोकथाम तथा नियन्त्रणमा नौ करोड ७३ लाख ५७ हजार रुपैयाँ खर्चेको विवरण महानगरपालिकाले उपलब्ध गराएको छ । महानगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार कोरोना संक्रमण सुरु भएपछि लकडाउन सुरु भएको चैतयता गत असार मसान्तसम्ममा आठ कराेड ५१ लाख रुपैयाँ खर्च भएको थियो । त्यस्तै, गत साउनदेखि कात्तिकसम्ममा एक करोड २२ लाख ५५ हजार आठ सय रुपैयाँ खर्च भएको तथ्यांक महानगरपालिकाले दिएको छ । स्वास्थ्य सामग्री खरिदमा साढे दुई करोड महानगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार गत चैतदेखि कात्तिकसम्ममा स्वास्थ्य सामग्री खरिदमामात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । गत चैतदेखि असारसम्ममा महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न एक करोड ७२ लाख ६८ हजार खर्चेको थियो । जसमा (केन्द्रीय स्तर) मा एक करोड २४ लाख २९ हजार र वडास्तरमा ४८ लाख ३९ हजार रुपैयाँ खर्च भएको महानगरको तथ्यांक छ । त्यस्तै, साउनयता भिमकिट स्वाब स्टिक खरिदमा १४ लाख २४ हजार र फेस सिल्ड, रेनकोट, रबर पन्जा, सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री खरिदमा ५३ लाख पाँच हजार रुपैयाँ खर्च भएको तथ्यांक महानगरले उपलब्ध गराएको छ । ३७ लाखको स्यानिटाइजर सडकमा छर्कियो त्यस्तै, सडकमा स्यानिटाइजर छर्किँदा ३७ लाख खर्च भएको विवरण महानगरपालिकाले उपलब्ध गराएको छ । महानगर क्षेत्रभित्र डिस्इन्फेक्सन औषधी छर्कने कार्यक्रममा गत चैतदेखि असारसम्ममा १९ लाख ९४ हजार खर्च भएको महानगरपालिकाले जनाएको छ । त्यस्तै, साउनदेखि कात्तिकसम्ममा महानगरका विभिन्न क्षेत्रमा सेनिटाइज गरेवापत गाडीभाडा भुक्तानीमा १२ लाख ८९ हजार र गाडीबाट सेनिटाइज गर्र्न सेनिटाजर खरिदमा चार लाख २९ हजार रुपैयाँ खर्च भएको महानगरको तथ्यांक छ । जनचेतना र विज्ञापनमा २८ लाख काठमाडौं महानगरपालिकाले चैतदेखि कात्तिकसम्मको अवधिमा कोरोना नियन्त्रण र रोकथामका लागि जनचेतना र विज्ञापनमा करिब २८ लाख रुपैयाँ खर्चेको छ । चैतदेखि असारसम्ममा विभिन्न टेलिभिजनबाट सूचनामूलक सूचना प्रशारण खर्च २२ लाख दुई हजार र साउनयता कात्तिकसम्म कोभिड सम्बन्धी जनचेतनामूलक विज्ञापन गरेवापत ५ लाख ८४ हजार रुपैयाँ खर्च भएको विवरण महानगरले प्रस्तुत गरेको छ । ६ करोड २० लाखको खाद्यान्न तथा राहत वितरण महानगरपालिकाले कोरोना संक्रमित तथा संक्रमणबाट प्रभावितलाई खाद्यान्न लगायतका राहत वितरणमा करिब ६ करोड २० लाख रुपैयाँ खर्चेको छ । गत चैदेखि असारसम्म वडा कार्यालयबाट गरिएको खाद्य सामग्री वितरणमा ५ करोड ७० लाख १० हजार र विभिन्न संघसंस्थालाई राहत सामग्री वितरणमा वितरणमा २४ लाख ८७ हजार खर्च भएको महानगरले जनाएको छ । त्यस्तै, वडा कार्यालयमार्फत कोभिड संक्रमितलाई फलफूल तथा खानेकुरा वितरण गर्दा २४ लाख ६८ हजार खर्च भएको महानगरको तथ्यांक छ । यस्ताे छ महानगरकाे काेराेना राेकथाम तथा नियन्त्रण खर्च

ताजा अपडेट

नेपालवाच विशेष