NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १९ गते

रडको भाउ किलोमै २० रुपैयाँसम्म बढ्यो, सिमेन्ट एक सयसम्म घट्यो

काठमाडौं । विकास निर्माणको सिजन सुरु भएलगत्तै बजारमा छडको मूल्य अप्रत्याशित महँगिएको छ । पछिल्लो एक महिनामै छडको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ एमएस ब्लेडको मूल्य बढेपछि स्वदेशी बजारमा छडको भाउ बढेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्लेडको मूल्य प्रतिमेट्रिकटनमा १ सय २० अमेरिकी डलरसम्म बढेको छ । ‘अन्तर्राष्ट्रिय बजारमै ३६० डलर प्रतिमेट्रिकटन पर्ने ब्लेडको मूल्य बढेर ४८० डलरसम्म पुगेको छ,’ उनले भने, ‘कच्चा पदार्थकै मूल्य ३२ प्रतिशतसम्म बढेपछि डन्डीको मूल्य बढेको हो ।’ सौरभ समूहले लक्ष्मी ब्रान्डमा डन्डी उत्पादन गर्दै आइरहेको छ । उनले थपे, ‘दसैँअघि प्रतिकिलो ६५ रुपैयाँ हाराहारी रहेको लक्ष्मी स्टिल ९डन्डी०को भाउ ८० रुपैयाँ पुगेको छ ।’ तर, फलामजन्य छड, जिआई वायर, तारजालीको मूल्य अप्रत्याशित बढ्नुमा फलामजन्य वस्तु उत्पादक कम्पनीहरूले कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघको आरोप छ । महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ‘अहिले डन्डी, पाता, पत्ती, जिआई तार, ग्याबिन तार र नदीजन्य निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि गरिएको छ, यसमा उत्पादक कम्पनीहरूको मिलेमतो भएको देखिन्छ ।’ अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य थोरै मात्र बढ्दा पनि अत्यधिक मूल्य वृद्धि गरिनुमा उत्पादक कम्पनीहरूले मनोमानी गरेको स्पष्ट देखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । उनी भन्छन्, ‘नेपालमा वर्षात् सुरु हुनेबित्तिकै मूल्य घटाउने र निर्माण सिजन सुरु हुनेबित्तिकै अभाव देखाएर मूल्य बढाउने विगतदेखिकै चलन हो ।’ कोभिड महामारी अझै कायम रहेकाले निर्माण सामग्रीको माग खासै बढ्न सकेको छैन । दुई महिनाभन्दा बढी स्टोर गर्न नमिल्ने हुनाले सिमेन्टको मूल्य भने उस्तै छ । लक्ष्मी स्टिलका सञ्चालक न्यौपाने भने निर्माण व्यवसायी र निर्माण सामग्री विक्रेताहरूले लगाएको आरोप स्वीकार्न तयार छैनन् । उनी भन्छन्, ‘अहिले ३२ वटा छड उद्योग सञ्चालनमा छन्, छडको मागभन्दा उत्पादन क्षमता बढी छ, अझ त्यसमाथि कोभिडको वेलामा माग पनि घटेको छ । कार्टेलिङ गर्न त छडको माग पनि उत्पादनभन्दा निकै बढी हुनुपर्‍यो नि ।’ उनका अनुसार माग नबढेपछि उद्योगीहरूसँग छडको ठूलो स्टक छ । अहिले मुलुकभर ३२ वटा छड उद्योगहरू सञ्चालनमा छन् । छडको ब्रान्डअनुसार मूल्य पनि फरकफरक रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनका अनुसार असोजमा छडको मूल्य ५७ देखि ६५ रुपैयाँसम्म थियो अहिले मंसिरमा बढेर ७५ देखि ८५ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, जिआई वायरको मूल्य दसैँअघि प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेकोमा अहिले बढेर ११० देखि ११५ रुपैयाँसम्म पुगेको छ । बजारमा खुद्रा पसलहरूले लोडरअनलोड र ढुवानीसमेत गरेर बिक्री गर्दा उपभोक्ताले प्रतिकिलो ५र६ रुपैयाँ बढी तिर्नुपर्ने उनले बताए । नेपालमा विदेशबाट ब्लेड आयात गरेर डन्डी, जिआई वायर, तारजालीलगायत निर्माण सामग्री बनाइन्छ । न्यौपानेका अनुसार डन्डीको मूल्यमा ८० देखि ९० प्रतिशत ब्लेडकै लागत जोडिन्छ भने १० देखि २० प्रतिशत रकम फ्याक्ट्री प्रशोधनको हो । उनी भन्छन्, ‘हामीले खरिद गर्दा ब्लेडको मूल्य प्रतिकिलो ५५ रुपैयाँ हाराहारी परेको छ भने डन्डीको मूल्य ६५ रुपैयाँ पर्न आउँछ ।’ महासंघका अध्यक्ष सिंह तयारी डन्डी र ब्लेडको भन्सार दरमा ठूलो फरक भएकाले उत्पादकहरू बर्सेनि कार्टेलिङ गरिरहेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘करिब ७र८ वर्षदेखि कच्चा पदार्थ ब्लेडको भन्सारदर ५ प्रतिशत र तयारी डन्डीको भन्सार ३० प्रतिशत हाराहारी छ । सरकारले स्वदेशी उद्योग प्रवद्र्धन गर्न कच्चा पदार्थमा भारी छुट दिएको हो । तर, व्यवसायीहरूले यही अवसरलाई कमाउने मौकाका रूपमा उपयोग गर्दै आइरहेका छन् । सिमेन्टमा कार्टेलिङ हट्यो डन्डी, जिआई वायर, नदीजन्य निर्माण सामग्रीको मूल्यमा उछाल आए पनि सिमेन्टको भाउ भने घटेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार अहिले धेरैजसो उद्योगीहरूले परल मूल्यमा सिमेन्ट बिक्री गरिरहेका छन् । अहिले ब्रान्ड र स्थानअनुसार ओपिसीको फ्याक्ट्री मूल्य प्रतिबोरा ५५० देखि ६५० रहेको छ भने पिपिसीको ५३० देखि ५५० रहेको छ । कोभिड महामारीभन्दा अगाडिको तुलनामा अहिले सिमेन्टको मूल्य प्रतिबोरा सय रुपैयाँसम्म घटेको उनले बताए । कोभिडका कारण बजारमा माग नभएपछि सिमेन्ट उद्योगहरूले आफ्नो क्षमताको ३०र४० प्रतिशत मात्र उत्पादन गरिरहेको उनले बताए । उनले भने, ‘जेठ महिनाको तुलनामा अहिले सिमेन्टको मूल्य बोरामा सय रुपैयाँसम्म घटेको छ ।’ अहिले नेपालमा सिमेन्टको मागभन्दा उद्योगहरूको उत्पादन क्षमता बढी छ । सोहीकारण चर्को माग हुँदा पनि उद्योग पूर्ण क्षमतामा चल्न सक्ने अवस्थामा छैनन् ।नयाँ पत्रिकामा खबर छ ।